• ८ भदौ २०८२, आइतबार

प्रभु मनी ट्रान्सफर फरार

blog

सुलीकोट समाचारदाता 

सुलीकोट, भदौ ८ गते । गोरखामा लामो समयदेखि गोरखावासीलाई बैङ्किङ कारोबार गरी सहयोग गर्दै आएको प्रभु मनी ट्रान्सफर जिल्लाका सहकारी संस्थाको एक करोड रुपियाँ लिएर फरार भएको छ । जिल्लाभित्रका १६ वटा सहकारी संस्थाको पाउनुपर्ने एक करोड रुपियाँ लिएर प्रभु मनी ट्रान्सफर फरार भएको हो । 

गोरखा जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तीर्थबहादुर नेपालीले गोरखाका सहकारी संस्था र प्रभु म्यानेजमेन्ट प्रालिबिच भएको सम्झौता अनुसार राखेको धरौटी र पाउनुपर्ने रकम गरी कुल ९९ लाख ३७ हजार ९९ रुपियाँ ९४ पैसा प्रभु मनी ट्रान्सफरले हिनामिना गरी बेपत्ता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गोरखामा देशविदेशबाट ग्राहकले पठाएको रकम हामीले सम्बन्धित व्यक्तिलाई बुझायौँ तर सम्झौता अनुसार प्रमु मनी ट्रान्सफरले सहकारीलाई उक्त रकम महिना दिनसम्म पठाएन ।” सहकारीलाई दिनुपर्ने रकम भुक्तानी नगरी विगत एक वर्षदेखि प्रभु मनी ट्रान्सफरका प्रतिनिधि पनि सम्पर्कविहीन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला त फोन सम्पर्क गर्दा हामी मिलाउँछौँ भन्दै टार्ने गरेका थिए, पछिल्लो समय त फोन सम्पर्क पनि छैन र मान्छे पनि सबै फरार भएका छन् ।” 

नेपालको कानुनले मनी ट्रान्सफरबिच भएको सम्झौता अनुसार ग्राहकले पठाएको रकम बढीमा एक हप्ताभित्र सहकारी संस्थाले भुक्तानी पाउनुपर्ने भए पनि अहिलेसम्म सहकारीको रकम फिर्ता नगरी फरार रहेको सहकारी सञ्चालकको गुनासो छ । 

बचतकर्ताले खाइनखाई बचत गरेको रकम हिनामिना गरेर भाग्ने अधिकार कसैलाई नभएकाले सहकारीका सञ्चालक प्रभु मनी ट्रान्सफरविरुद्ध कानुनी प्रक्रियामा जाने निर्णय गर्दै जिल्ला प्रशासन कार्यालय गोरखामार्फत नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग नयाँ बानेश्वर काठमाडौँलाई ज्ञापनपत्र शुक्रबार बुझाइएको अध्यक्ष नेपालीले बताउनुभयो ।  

हिनामिना हुनेमा सबैभन्दा बढी आरुघाट गाउँपालिका–८, शीतला बचत तथा ऋण सहकारी संस्थाको २८ लाख ३५ हजार १५१ रुपियाँ लिएर फरार भएका छन् । यस्तै अन्य सहकारीको पनि रकम रहेको छ । अबको केही दिनमा पनि मनी ट्रान्सफरले सहकारीको रकम फिर्ता नगरे गोरखामा आन्दोलन गर्नुका साथै कानुनी उपचार खोज्दै अदालतसम्म जाने निर्णय भएको सहकारी अध्यक्ष नेपालीले बताउनुभयो ।