• १० मंसिर २०८१, सोमबार

चिने जानेकाबाटै जोगिन गाह्रो

blog

सबैभन्दा जघन्य हिंसाका रूपमा यौन हिंसालाई लिइन्छ । जुन नारी वर्गका लागि जीवनभरको पीडा हो । दैनिक जीवनमा कतै न कतै कुनै न कुनै रूपमा धेरैजसो महिलाले यौन हिंसा भोगेकै हुन्छन् । कार्यस्थल, सार्वजनिक यातायात, सार्वजनिक स्थान, घरभित्र वा जुनसुकै स्थानमा जबरजस्ती संवेदनशील अङ्ग छुने वा छुवाउने, झुक्याएर यौन चित्र तस्बिर वा फिल्म देखाउने, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने वा यस्तै प्रकारका अन्य घटना यौनिक हिंसाभित्र पर्दछन् । 

आठ वर्षअघि सुन्दरी प्रतियोगितामा सहभागी एक युवती आयोजकबाटै बलात्कृत भएको घटना सार्वजनिक भएलगत्तै सुनसरीको एक विद्यालयका पूर्वप्रिन्सिपलले आफ्नै छात्रालाई पाँच वर्षअघि बलात्कार गरेको घटना सार्वजनिक भयो । यस घटनाले सडक तातिरहेका बेला काठमाडौँको एक कलेजमा दुई शिक्षकबाट यौन हिंसा भएको घटना बाहिरियो ।

यौन हिंसाको धेरैजसो घटना चिनेजानेकै व्यक्तिहरूबाट हुने गरेको छ । पछिल्लो समय सार्वजनिक भएका बलात्कारका घटनाहरू चिनजानेकै, परिवारका सदस्य, शिक्षक या आफन्तबाट भएका छन् । यसबाट स्पष्ट हुन्छ कि हिंसा गर्नेहरू परचक्री होइन आफन्तै बढी हुन्छन् । यी घटनापछि यौन हिंसाविरुद्धको उजुरीका लागि तोकिएको हदम्यादको विरोध भएको छ । हदम्याद हटाउनुपर्ने र हटाउन नहुने वा बढाउनुपर्ने तर्कहरू सडकदेखि सदनसम्म उठेका छन् ।

यौन हिंसाको कानुनी उपचारका लागि हदम्याद लागू गर्दा हुने क्षति र नराख्दा हुने क्षतिको पनि आकलन गर्नुपर्ने कतिपयको तर्क छ । हदम्याद राखिएन भने यस्ता मुद्दाले अदालतको दराज भरिने तर्क पनि कतिपयको छ । हदम्याद नराख्दा मन मिल्दासम्म मायाप्रेम र मन फाटेपछि बलात्कार हुने प्रथाको विकास हुने र कोही पनि पुरुष सुरक्षित नरहने तर्क पनि उठिरहेकै छन् । 

यौनजन्य हिंसाका हदम्याद कानुनमा विश्वका विभिन्न देशमा आ–आफ्नै अभ्यास छन् । क्यानडा, साइप्रस, घाना, हङ्गेरी, जमैका, मालदिभ्स, म्यानमार, पाकिस्तान, नेदरल्यान्ड, दक्षिण अफ्रिका र मौरिससलगायत देशमा यौन हिंसासम्बन्धी मुद्दाका लागि कुनै हदम्याद लाग्दैन । अमेरिकामा प्रान्तपिच्छे फरक प्रावधान छ । त्यहाँको ३० भन्दा बढी प्राप्तमा हदम्याद नलाग्ने भन्ने छ भने बेलायतमा यौन हिंसाजस्तो गम्भीर प्रकृतिको कसुरमा हदम्याद लाग्दैन । 

बलात्कार महिलाका लागि जीवनको सबैभन्दा कठिन अवस्था हो । बलात्कारपछिको उसको जीवन तहसनहस नै हुन्छ । बलात्कार गर्ने पुरुषको तुलनामा महिला समाजमा घृणाको पात्र बन्ने गरेका छन् । बलात्कारी पहुँचवाला भयो भने अझ उसलाई जोगाउने काम हुन्छ । यस्ता कैयौँ घटना समाजमा देखिएकै छन् । हत्याभन्दा जघन्य अपराध हो बलात्कार तर एक महिलाको कोखबाट जन्मेको पुरुष, महिलाको स्तनपान गरेर, महिलाकै काखमा लुटुपुटु गरेर हुर्के–बढेको पुरुष किन हिंसा गर्छ र कस्ता मानिसले गर्छन् भन्ने महìवपूर्ण छ । 

केही वर्षअघि सार्वजनिक भएको एक अध्ययन प्रतिवदेनअनुसार जलवायु परिवर्तनले मानिसमा हिंसाको भावना बढाइरहेको छ र त्यो हिंसामा बलात्कार पनि पर्दछ । बलात्कार अस्वस्थ मानसिकताको उपज पनि हो । बाहिरबाट हेर्दा सुटेट–बुटेट मानिसको मनमा पनि हिंसाभाव हुन्छ र उसको मानसिकता पनि त्यस्तै हुन्छ । 

बलात्कार गर्नु एक अपराध मात्र नभएर मानसिक विकार वा रोग पनि मानिन्छ । आजभोलि पिण्ड खाने बेलाका वृद्धले नाबालिका बलात्कार गरेका पनि सुनिन्छन् । नातिले हजुरआमा बलात्कार गरेका अनि हजुरबाले नातिनी बलात्कार गरेको घटना पनि सुनिन्छ । यो सब एक प्रकारको रोगका कारणले हो । जसलाई मानसिक विकार भनिन्छ । समाजशास्त्रीहरू बलात्कारलाई एक जघन्य अपराध मात्र होइन कि एक अस्वस्थ समाजका उपजका रूपमा लिनुपर्ने बताउँछन् । त्यो त्यस्तो समाज हो जहाँ महिलामाथि डर धाक देखाउने तथा महिलालाई अनादर अनि खेलौना मात्र सम्झने गरिन्छ ।

मनोवैज्ञानिक दृष्टिमा बलात्कारका अनेक कारण हुन्छन् । मानसिक विचलन, महिलालाई तुच्छ ठान्ने प्रचलन तथा व्यक्तित्व विकारहरूका कारण पनि मानिसले बलात्कार गर्छन् । तीमध्ये पुरुषमा हुने पुरुषत्वको अहं पनि एक प्रमुख कारण हो । अर्कोतिर सूचना प्रविधिको विकासले हरेकको हातहातमा पुगेको मोबाइल फोनका कारण मानिसले अनेक किसिमका अश्लील चलचित्र तथा चित्रहरूका कारण पनि यौन दुव्र्यवहार बढेको छ । कम उमेरका व्यक्तिहरूले गर्ने बलात्कारमा यो एउटा प्रमुख कारण मानिएको छ ।

रोकथामको उपाय

बलात्कार सामाजिक तथा कानुनी रूपमै एक जघन्य अपराध हो । त्यसैले संसारभरि नै बढ्दै गएका बलात्कारका घटनाहरू रोकथाम गर्न हरेक देशले कुनै न कुनै उपाय अपनाएका छन् । नेपालमा यस विषयमा नयाँ कानुन लागू भएको छ तर बलात्कारको मुद्दा दर्ता गर्न एकवर्षे हदम्यादले ठूलो अवरोध खडा गरेको छ । अहिले संसद्मा हदम्याद संशोधन प्रस्ताव पनि दर्ता भएका छन् । कतिपय देशमा त बलात्कारीलाई निकै कठोर सजाय र मृत्युदण्डसमेत दिने व्यवस्था छ । नेपालमा पनि बलात्कारको प्रकृति हेरेर बलात्कारीलाई जेल सजायको दण्ड दिइन्छ भने सामाजिक रूपमा पनि बलात्कारीलाई कुट्ने, पिट्ने तथा यदाकदा सामाजिक रूपमा पनि बहिष्कार गर्ने गरिन्छ । यससँंगै पहुँचवाला बलात्कारी भयो भने पैसाकै बलमा घटना सामसुम पार्ने अर्थात् मिलापत्र गर्ने काम पनि समाजभित्रै भएको छ । 

मूलभूत रूपमा हेर्ने हो भने दण्ड सजाय बलात्कारको एक मात्र समाधान होइन तर पनि दण्ड सजायले केही हदसम्म भए पनि बलात्कारका घटना न्यून गर्न सक्ने देखिन्छ । यसका अतिरिक्त यस्ता घटना न्यून गर्न सबैभन्दा पहिला पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुन जरुरी छ । यसका लागि नागरिक शिक्षा, सामाजिक शिक्षा, यौन शिक्षा र मनोवैज्ञानिक परामर्श महìवपूर्ण हुन्छ ।

अर्को महìवपूर्ण पाटो आयआर्जनको अवसर, सुलभ शिक्षा र स्वास्थ्य तथा स्वस्थ वातावरण बलात्कार मात्र होइन कुनै पनि प्रकृतिको घटना कम गर्ने प्रमुख आधार हुन् । एउटा सभ्य समाजका लागि त्यो समाज स्वस्थ, सुखी र सम्पन्न हुनुपर्छ । यस्तो वातावरण बनाउनेतिर ध्यान नदिएर कानुन मात्रै कडा बनाउँदै जाँदा घटनाहरूमा कमी आउँदैन । बलात्कारका घटना हुन नदिन प्रभावकारी कानुनी व्यवस्था गरी त्यसको कडाइका साथ पालना गर्नु आवश्यक छ । हुन त सडकमा उत्रेको आक्रोशले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने माग गरेका छन् ।

यसको कारण भनेको बलात्कारीहरू कानुनको फन्दाबाट सजिलै उम्कने गरेकाले पनि हो । फितलो कानुनी व्यवस्थाले गर्दा बलात्कारीको मनोबल बढेको अधिकारकर्मीहरूको भनाइ छ । त्यसैले बलात्कारीलाई कडाभन्दा कडा कानुन कारबाही हुनुपर्छ । त्यस्ता अपराधलाई लुकाउने, बलात्कारलाई बलात्कार होइन भनी बचाउन खोज्ने जोसुकैलाई मतियारका रूपमा दण्डित गरिनुपर्छ । कडा कारबाहीले नै बलात्कारजस्ता घटनालाई निरुत्साहित गर्न सकिन्छ । 

बलात्कार या अन्य यौनहिंसा गर्नेहरू आफन्त वा चिनजानकै हुने भएकाले बालिका तथा युवतीमा आत्मरक्षाका उपायका साथ यौन हिंसाका प्रकृतिका बारेमा परामर्श पनि दिनु आवश्यक छ । यस्तो परामर्श, विद्यालय, कलेजका साथै स्थानीय तहबाट वडास्तरमै पनि गर्न सकिन्छ ।

आफन्त हुन् भनेर कोही पनि ढुक्क हुन नसकिने र सचेत हुने गरी प्रशिक्षित गराउनुपर्छ तर यसबाट पारिवारिक विखण्डन आउने अवस्था सिर्जना हुन भने दिनुहुँदैन । केही घटनालाई आधार बनाएर समग्र परिवारलाई शङ्काको घेरामा राख्नु गलत हो तर कस्तो हेराइ, बोलाइ, छुवाइ यौन हिंसा हुनसक्छ भन्नेतर्फ भने सचेत पार्नैपर्छ । किनभने राष्ट्रिय महिला आयोगको पछिल्लो प्रतिवेदनअनुसार मुलुकमा हुने महिला हिंसामध्ये ७० देखि ८० प्रतिशत घटना आफन्त, चिनजान र परिवारका सदस्यबाट हुने गरेको छ । 

Author

यादब देवकोटा