• २० वैशाख २०८२, शनिबार

‘एन्टिबायोटिक’ ले निम्त्याउने जटिलता

blog

एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) भन्नाले सूक्ष्म जीवहरू जस्तै ब्याक्टेरिया, भाइरस, फङ्गस र परजीवीले आफूहरूलाई मार्ने वा वृद्धि रोक्ने औषधीप्रति प्रतिरोधक क्षमता विकास गर्नु हो । यसलाई एन्टिमाइक्रोबियल प्रतिरोध पनि भनिन्छ । जब यस्तो प्रतिरोध विकास हुन्छ तब सामान्य औषधीहरूले पनि रोग निको पार्न सक्दैनन्, जसले गर्दा साधारण सङ्क्रमणहरू घातक बन्न सक्छन् । एन्टिबायोटिक भनेको ब्याक्टेरियालाई मार्न प्रयोग गरिने औषधी हो, तर यसले भाइरस, फङ्गस र परजीवीलाई केही असर पार्दैन । विश्व स्वास्थ्य सङ्गठनले एन्टिमाइक्रोबियल प्रतिरोधलाई आधुनिक स्वास्थ्य सेवाका लागि ठुलो चुनौतीको रूपमा चिनाएको छ किनभने यदि यो अवस्था बढ्दै गयो भने भविष्यमा सामान्य चोट, ओपरेसन वा सङ्क्रमण पनि जोखिमपूर्ण हुन सक्छन् । यस समस्याको गम्भीरतालाई ध्यानमा राखेर अहिले नै विश्वभर एएमआर रोकथामका उपायमा जोड दिइएको छ ।

नेपालमा महामारी विज्ञान

नेपालमा पछिल्ला केही वर्षमा एएमआर एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या बन्दै गएको छ । धेरैजसो अस्पतालमा गरिएका अध्ययनले ग्राम नेगेटिभ ब्याक्टेरिया जस्तै इस्चेरेचिया कोली, क्लेबसिएला न्युमोनिया आदिमा उच्च औषधी प्रतिरोध देखिएको छ । विशेष गरी टायफाइड, पिसाब सङ्क्रमण, निमोनिया र घाउ सङ्व्रmमणमा प्रयोग गरिने सामान्य एन्टिबायोटिकहरू जस्तै एमोक्जिसिलीन, सेफट्रियाक्जोनमा प्रतिरोध देखा परेको छ । नेपालमा प्रतिवर्ष हजारौँ मानिस एएमआरका कारण जटिल सङ्व्रmमण र मृत्युसम्मको जोखिममा पर्छन् तर सङ्व्रmमणजन्य रोगको उपयुक्त निगरानी, डाटाको अभाव र स्वास्थ्य पूर्वाधारको कमजोरीले समस्या थप जटिल बनाएको छ ।

प्रतिरोधको कारण

एन्टिमाइक्रोबियल प्रतिरोधको कारण विभिन्न छन् । यसको प्रमुख कारण एन्टिबायोटिकको अनुचित प्रयोग हो, जस्तै डाक्टरको सल्लाहबिना नै एन्टिबायोटिक लिने, औषधीको डोज पूरा नगर्ने वा अनावश्यक रूपमा एन्टिबायोटिक अत्यधिक प्रयोग गर्ने । यसले जीवाणुमा प्रतिरोधक क्षमता विकसित गराउँछ । ब्याक्टेरियामा हुने आनुवंशिक उत्परिवर्तनले पनि एन्टिबायोटिक प्रतिरोध निम्त्याउँछ । त्यस्तै पशुपालन र कृषि क्षेत्रमा एन्टिबायोटिकको धेरै प्रयोगले पनि यसलाई बढाउँछ । अस्पतालहरूमा स्वच्छताको कमी तथा सङ्क्रमण नियन्त्रणका उपायहरू अपर्याप्त हुनाले पनि रोगजनक जीवाणुहरू फैलिन्छन् र प्रतिरोधी बन्छन् । साथै नयाँ एन्टिबायोटिकको अनुसन्धान र विकासमा न्यून लगानीले पनि यो समस्या बढाउँदै छ । यी सबै कारण मिलेर एन्टिमाइक्रोबियल प्रतिरोधलाई विश्वव्यापी स्वास्थ्य चुनौती बनाएको छ ।


लक्षण

एन्टिमाइक्रोबियल प्रतिरोधको लक्षण विभिन्न रूपमा देखिन सक्छन् । मुख्य लक्षणमा प्रयोग गरिरहेको औषधीको असर नदेखिने, सङ्क्रमण झट्टै निको नहुने, रोग बढ्दै जाने र बारम्बार सङ्क्रमण हुने पर्छन् । उदाहरणका लागि यदि कुनै ब्याक्टेरियल सङ्क्रमण एन्टिबायोटिकको उपचारपछि पनि निको नभएमा वा लामो समयसम्म रहेमा यो एन्टिमाइक्रोबियल प्रतिरोधको सङ्केत हुन सक्छ । यस्तो अवस्थामा रोगीमा ज्वरो, सुस्ती, घाउ निको नहुने र अन्य गम्भीर लक्षण देखा पर्छन् । यसले न केवल व्यक्तिगत स्वास्थ्यमा असर गर्छ, बरु समुदायमा पनि सङ्क्रमण फैलिने जोखिम बढाउँछ ।

निदान

एन्टिमाइक्रोबियल प्रतिरोधको निदान गर्न विभिन्न प्रयोगशाला परीक्षण गर्नु पर्छ । यसको लागि सबैभन्दा पहिले रोगीबाट नमुना जस्तै रगत, पिसाब, खकार सङ्कलन गरिन्छ । यी नमुनामा ब्याक्टेरिया, भाइरस वा फङ्गसको उपस्थिति जाँच्न बायोकेमिकल टेस्ट, ग्राम स्टेनिङ्ग वा माइक्रोस्कोपी जस्ता विधि प्रयोग गरिन्छ । यदि सङ्क्रमण पुष्टि भयो भने एन्टिमाइक्रोबियल ससेप्टिबिलिटी टेस्ट गरिन्छ, यसमा कीटाणुहरू कुन एन्टिबायोटिकसँग प्रतिरोधी छन् र कुनसँग कीटाणुहरूलाई मार्न सकिन्छ भन्ने बताउँछ । नतिजाको आधारमा चिकित्सकले प्रभावी उपचार योजना बनाउँछन् । एएमआरको निदानमा ढिला वा गलत परीक्षणले उपचारमा असफलता ल्याउन सक्छ, त्यसैले यसलाई सावधानीपूर्वक गर्नु पर्छ ।

उपचार

एन्टिमाइक्रोबियल प्रतिरोधको उपचार गर्न धेरै चुनौतीपूर्ण हुन सक्छ । सर्वप्रथम सङ्क्रमणहरूबाट बच्न उचित उमेरमा पूरा मात्रामा खोप लगाउनु पर्छ । सङ्क्रमण भएमा सही रोग निदान गरी एन्टिबायोटिक वा अन्य एन्टिमाइक्रोबियल औषधीको सही चयन गर्नु पर्छ । डाक्टरले रोगीको अवस्था, कीटाणुको प्रकार र प्रतिरोधकताको पत्ता लगाएर उपयुक्त औषधी सुझाव गर्छन् । कहिलेकाहीँ एकभन्दा बढी औषधीको संयोजन आवश्यक पर्छ । यसबाहेक नयाँ एन्टिबायोटिकको विकास, वैक्सिन (खोप) र स्वच्छताको उचित अभ्यासले यसलाई नियन्त्रण गर्न मद्दत गर्छ । रोगीहरूले पनि डाक्टरको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्ने, मात्रा पूरा गरेर औषधी खाने र स्वच्छताको नियम पालना गर्नु पर्छ । सरकारी र अन्तर्राष्ट्रिय स्तरमा पनि यसको रोकथामका लागि नीतिहरू बनाउनु पर्छ । यसरी सामूहिक प्रयासले मात्र एन्टिमाइक्रोबियल प्रतिरोधलाई नियन्त्रण गर्न सकिन्छ ।

जटिलता

एन्टिमाइक्रोबियल प्रतिरोधको जटिलताले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्छ । यसले सामान्य सङ्क्रमणको उपचार गर्न गाह्रो बनाउँछ, जसकारण रोगहरू लामो समयसम्म रहन सक्छन् र मृत्यु दर पनि बढ्न सक्छ । प्रतिरोधको कारण अस्पतालमा भर्ना हुने रोगीहरूको सङ्ख्या बढ्छ, जसले स्वास्थ्य प्रणालीमा अतिरिक्त बोझ पार्छ । यसले उपचार खर्च महँगो बनाउँछ र गरिब तथा सीमित स्रोत भएका मानिसहरूका लागि चिकित्सा सेवा पाउन कठिन हुन्छ । यसले आधुनिक चिकित्सा प्रणालीलाई पनि चुनौती दिन्छ किनभने धेरै शल्यव्रिmया 

(सर्जरी), क्यान्सर उपचार र अङ्ग प्रत्यारोपण जस्ता जटिल प्रव्रिmया एन्टिमाइक्रोबियल औषधीको प्रभावकारितामा निर्भर हुन्छन् । यदि यी औषधीले काम गर्न छोड्छन् भने यी उपचारहरू जोखिमपूर्ण हुन सक्छन् । यो प्रतिरोधले खाद्य सुरक्षा र पशुपालनमा पनि असर पार्छ, यसरी एन्टिमाइक्रोबियल प्रतिरोधले सार्वजनिक स्वास्थ्य, अर्थतन्त्र र विकासप्रति ठुलो खतरा बनेको छ ।

रोकथामका उपाय

एन्टिमाइक्रोबियल प्रतिरोध रोकथाम गर्न विभिन्न उपाय अवलम्बन गर्नु पर्छ । सबैभन्दा पहिले एन्टिबायोटिक तथा अन्य एन्टिमाइव्रmोबियल औषधी उचित रूपमा प्रयोग गर्नु पर्छ । डाक्टरको सल्लाहबिना नै एन्टिबायोटिक लिने बानी छोड्नु पर्छ, किनभने अनावश्यक रूपमा यसको प्रयोगले रोगजनक कीटाणुहरूमा प्रतिरोधक क्षमता विकास गराउँछ । यसका साथै औषधीको निर्धारित डोज पूरा गर्नु पर्छ किनभने अधुरो उपचारले पनि प्रतिरोध बढाउन सक्छ । स्वच्छता कायम गर्ने, हात धुने र सङ्क्रमण नियन्त्रणका उपायहरू अपनाउनाले सङ्क्रमण फैलिनबाट रोक्न मद्दत गर्छ । पशुधन तथा कृषि व्यवसायमा पनि एन्टिबायोटिकको प्रयोग रोक्नु पर्छ किनभने यसले मानिसमा पनि प्रतिरोधी कीटाणु सिर्जना गर्न सक्छ । सरकार, स्वास्थ्य संस्था र जनताले मिलेर यसको रोकथामका लागि जागरूकता फैलाउनु पर्छ । यसरी सामूहिक प्रयासले नै एन्टिमाइक्रोबियल प्रतिरोधलाई नियन्त्रण गर्न सकिन्छ ।

यहाँ मानिसहरू साधारण अवस्था जस्तै ज्वरो, रुघाखोकी, घाँटी दुखाइमा एन्टिबायोटिक लिइरहेका हुन्छन् । यसले उनीहरू छिट्टै निको हुन्छन् तर उनीहरूले यो जान्दैनन् कि भविष्यमा यी ब्याक्टेरियाहरू उत्परिवर्तन गरेर फर्किन्छन् जसलाई मेडिकल भाषामा म्युटेसन भनिन्छ । अब पहिलेको एन्टिबायोटिकले समेत काम गर्न छोड्छ र यसरी एन्टिबायोटिक प्रतिरोध सुरु हुन्छ । त्यसैले एन्टिबायोटिक नलिइकन आफ्नो शरीरको प्रतिरक्षा प्रणालीलाई यी रोगहरूसँग लड्न दिनु उत्तम हुन्छ । ज्वरो भएमा पारासिटामोल लिन सकिन्छ, रुघाखोकीमा न्यानो पानी पिउनुहोस्, चिसोबाट बच्नुहोस् । यदि वास्तवमै एन्टिबायोटिकको आवश्यकता प-यो भने डाक्टरको सल्लाह अनुसार मात्र लिनुहोस् । अनावश्यक रूपमा एन्टिबायोटिक लिने बानीले भविष्यमा ठुलो स्वास्थ्य जोखिम बढाउँछ, त्यसैले सावधानी अपनाउनु पर्छ ।