राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा), वैशाख २० गते । स्याङ्जाको वालिङमा रहेको सिरक डसना उद्योगमा आगलागी हुँदा साढे १४ लाख बराबरको क्षति भएको छ । नुवाकोटको मेगन गाउँपालिका–६ घर का ३४ वर्षीय रमेश तामाङले वालिङ नगरपालिका–६ मिर्दीमा सञ्चालन गर्नुभएको आलमदेबी सिरक डसना उद्योगमा शुक्रबार आगलागी भएको हो ।
मेसिन चलिरहेको अवस्थामा अचानक बिजुली सर्ट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट १४ लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागीबाट कपडा पेल्ने मेसिन लगायत फाइवर लत्ता कपडा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीको भनाई छ । उद्योगमा गतवर्ष पनि आगलागी भएको थियो । घटना बारे अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।