धनगढी समाचारदाता
धनगढी, भदौ ४ गते । महिलाको मुद्दालाई अगाडि बढाउन पुरुषले पनि साथ दिन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । महिला समन्वय समिति सुदूरपश्चिम प्रदेश सभाले मङ्गलबार धनगढीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले महिलाको मुद्दामा पुरुषको साथ पनि आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य रेनु चन्दले बहुविवाहले महिलालाई मात्रै नभई पुरुषलाई पनि असर गर्ने भएकाले यसको विरुद्धमा पुरुषले पनि बोल्न जरुरी रहेको बताउनुभयो । “मानवीय जीवनमा मजाकिया तरिकाले कानुन ड्राफ्ट गर्न मिल्दैन,” उहाँले भन्नुभयो, “बहुविवाहले पुरुषलाई पनि असर गर्छ ।”
कार्यक्रममा महिलाले आन्दोलनभन्दा पनि पाएका उपलब्धि संरक्षण गर्नु आजको आवश्यकता रहेको औँल्याइएको छ । सबै महिला एकबद्ध भएर अगाडि बढेमा परिवर्तन ल्याउन सकिने ठहर गरिएको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का शान्ति केसीले महिलासम्बन्धी प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले महिलालाई दोस्रो दर्जाका रूपमा हेर्ने मानसिकता सबैले हटाउन आवश्यक रहेको बताउनुभयो । यसै गरी निर्वाचन प्रणाली खर्चिलो रहेको भन्दै केसीले त्यसलाई कटौती गर्नु पर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) का झुमा चौधरीले सबै कुरा राम्रो हुँदाहुँदै पनि आर्थिक अवस्थाकै कारण महिला निर्वाचन हार्नु पर्ने अवस्था रहेको बताउनुभयो । “पुरुषले खर्च गर्छन्, महिलाले खर्च गर्न सक्दैनन् भन्ने मानसिकता छ,” उहाँले भन्नुभयो, “त्यसैले महिलालाई टिकटमै विभेद गरिन्छ ।”कार्यक्रममा पूर्वप्रतिनिधि सभा सदस्य बिन्दा पाण्डेले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मसौदा र महिला आन्दोलनका साझा मुद्दाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।