खजुरा समाचारदाता
खजुरा, भदौ ४ गते । बाँकेका विभिन्न स्थानमा सञ्चालित १५ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आर्थिक वर्ष २०८१/८२ मा १८ करोड रुपियाँ बराबरका खसीबोका बिक्री गरेका छन् । जिल्लाभरका सहकारीले एक वर्षमा तीन लाख ६८ हजार ९४५ किलोग्राम तौल बराबरका १० हजार ९७३ वटा खसीबोका बेचेर १८ करोड ५४ लाख ९१ हजार २९१ रुपियाँ आम्दानी गरेका हुन् ।
सबैभन्दा बढी राप्ती सोनारी–७, पिप्रहवास्थित रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले तीन करोड ९१ लाख रुपियाँभन्दा बढीका खसीबोका बेचेको छ । व्यवस्थापक नसरुदिन शेषले संस्थाले ७४ हजार ५५६ किलोग्राम बराबरका २०७१ वटा खसीबोका बजारमा पुर्याएको जानकारी दिनुभयो ।
त्यसपछि राप्ती सोनारी–७, लालपुरस्थित परिवर्तन सहकारीले दुई करोड ६२ लाख रुपियाँ बराबरका एक हजार ५४१ वटा खसीबोका बिक्री गरेको छ भने राप्तीसोनारी–६, टेपरीको नयाँ सिर्जनशील सहकारीले एक करोड ९० लाख रुपियाँ बराबरका एक हजार १९ वटा खसीबोका बेचेको छ ।
यस्तै बैजनाथ–८ टिटहरियाको दीपलगन सहकारीले एक करोड ६७ लाख रुपियाँ बराबरका ८५० वटा खसीबोका बिक्री गरेको छ । राप्ती सोनारी–२, खोरियास्थित जननी सहकारीले एक करोड ३९ लाख रुपियाँका ८७० वटा खसीबोका बेचेको छ ।
त्यसै गरी कुसुम सहकारीले एक करोड २८ लाख, धामपुरस्थित सुनकोशी सहकारीले एक करोड छ लाख, राप्ती सोनारी–९ ढकेरीस्थित सङ्घर्षशील सहकारीले करिब ९८ लाख, सँगिनी सहकारीले ९३ लाख, बैजापुर सहकारीले ३४ लाख, अप्सरा सहकारीले ४७ लाख, कोहलपुर सहकारीले ७२ लाख, बैजनाथ–४, एकासी नगरस्थित सहकारीले २४ लाख, उपहार सहकारीले ७७ लाख र सशक्तीकरण सहकारीले २२ लाख रुपियाँ बराबरका खसीबोका बिक्री गरेका छन् ।
बाँकेमा पछिल्लो समय महिला किसान बाख्रापालनतर्फ निकै आकर्षित छन् । सहकारीमार्फत विभिन्न समूह गठन गरी किसानलाई खसीबोका उपलब्ध गराइने र ऋण सुविधा पनि दिइने भएकाले उनीहरू यस व्यवसायमा जोडिएका हुन् ।
राप्तीसोनारी गाउँपालिकाका किसान यसतर्फ बढी आकर्षित हुनुको कारण त्यहाँको प्रशस्त जङ्गल क्षेत्र हो, जसले खसीबोका पालनलाई सहज बनाएको छ । सहकारीमार्फत खसीबोका उत्पादन र बिक्री गर्न थालेपछि धेरै महिला किसान आत्मनिर्भर बन्दै गएका छन् ।