नेपाली हस्तकला विश्व बजारमा परिचित छ । सम्राट् अशोकका बाजे चन्द्रगुप्त मौर्यका मार्गदर्शक आचार्य चाणक्यको इतिहासमा पनि नेपाली राडीपाखी, कम्बल नेपालबाट झिकाइएको उल्लेख छ । सातौँ शताब्दी राजा अंशुवर्माले तिब्बतका राजा स्रोङ चोङ गम्पोसित छोरी भृकुटीलाई विवाह गरी पठाएर नेपाल र चीनबिचको सम्बन्ध दरिलो बनाएका थिए । सोही समयमा भृकुटीसँगै नेपाली कलाकार लगेर त्यहाँ फाग्पा गुम्बा निर्माण गरी नेपाली हस्तकलाको धातुपत्रबाट निर्मित मूर्ति बनाइएको थियो । तिब्बतको फाग्पा गुम्बा होस् या केरुङको फाग्पा गुम्बा दुवै अस्तित्वमा छन् । कलाकार अरनिको १३ औँ शताब्दीमा चीनका सम्राट कुब्लाई खाँको निमन्त्रणमा चीन गई स्वर्ण चैत्य निर्माण गरी राजाको अति विशेष पात्र बनेका थिए । उनलाई कलामन्त्रीको पदले समेत सम्मान गरिएको थियो । काठमाडौँ, ललितपुर र भक्तपुरको दरबार क्षेत्रमा काष्ठकला, मूर्तिकला र प्रस्तरकलाको अतुलनीय नमुना देख्न सकिन्छ । कलाकार अरनिको चित्रकला, मूर्तिकला साथै वास्तुकलामा समेत पोख्त थिए । त्यस समयमा उनले ८० जना कलाकार पनि चीनमा सँगै लगेको इतिहास छ । त्यसैले चीनमा हालसम्म पनि नेपाली हस्तकलालाई विशेष दृष्टिले हेर्ने गरिन्छ । इन्डोनेसियाको बोरुवुवोरमा रहेको विशाल चैत्य र त्यसमा रहेको बुद्ध प्रतिमाले पनि नेपाली कला समृद्ध रहेको देखाउँछ । मङ्गोलियामा नेपाली कलालाई समेटेर प्रशिक्षण केन्द्र सञ्चालन गरिएको छ । एलिजाबेथको सङ्ग्रहालय लन्डन, जर्मनी, लस एन्जलस, फ्रान्समा आदि सङ्ग्रहालयमा पनि नेपाली हस्तकला विशेष सङ्गृहीत छ ।
नेपाली हस्तकलामा पहिले परम्परागत हस्तकला जस्तै धातुमूर्ति, पौभा (थाङ्का), काष्ठकला, प्रस्तरकला, गलैँचा, राडीपाखी, हातेकागज, ऊनीजन्य वस्तु, धार्मिक मुखौटा, हिमाली भेगमा प्रयोग गरिने तामाका भाँडाकुँडा, तिब्बती सुनचाँदीका वस्तु आदिलाई मानिएको थियो । हाल आधुनिक रूपमा पोते, क्रिस्टल, पस्मिना, सिसाका वस्तु, सेरामिकका सामान, प्राकृतिक रेसाका लुगा तथा अन्य वस्तु नेपाली धूप आदि छन् । विगत ४० वर्षदेखि नेपाली आधुनिक हस्तकला पस्मिना उत्कृष्ट वस्तुका रूपमा निर्यात भएको छ । हाल पनि वार्षिक चारदेखि छ अर्ब रुपियाँको निर्यात भइरहेको छ । अचेल नेपाली धातु मूर्तिकलाले अन्तर्राष्ट्रिय बजार लिएको छ । मुख्यतयाः चीन, भारत, भुटान, ताइवानमा धातु मूर्तिकला उल्लेखनीय रूपमा निर्यात भएको छ । वार्षिक तीन अर्ब बराबरको धातु मूर्तिकला प्रत्येक वर्ष निर्यात हुने गरेको छ । जसले तीनदेखि पाँच लाखसम्मले रोजगारी पाइरहेका छन् । हस्तकलाको अर्को उदाहरण धातुकला हो । यो धेरै गाह्रो प्रविधिको कला हो । अहिले नेपाली हस्तकलामा कम मात्र कलाकार कालीगड यसमा संलग्न छन् । नेपाली कलाको विश्व बजारमा काष्ठकलाको विशेष स्थान छ । काठमाडौँ, ललितपुर र भक्तपुरको दरबार क्षेत्रमा काष्ठकला अतुलनीय नमुना देख्न सकिन्छ । काठका झ्याल, ढोका, मूर्ति, फर्निचरसमेतमा नेपाली कला झल्किएको पाइन्छ । अहिले उत्कृष्ट हस्तकलामा सिसाजन्य वस्तु पनि रहेको छ । प्रायः अमेरिका, युरोप तथा विकसित मुलुकमा यसको माग उच्च छ । विश्व बजारको माग अनुसार सजावटका सामग्रीमा नयाँ नयाँ वस्तुको सिर्जना गर्न सके अझ यसको माग बढ्ने छ ।
नेपालमा निर्मित काठ, प्रस्तर (ढुङ्गा), तामा, चाँदी, तामामा सुनको जलप लगाएर तयार गरिएका हस्तकलाका मूर्ति विश्व बजारमा पुगिरहेका छन् । कलाकौशलले भरिपूर्ण कलात्मक मूर्ति र सजावटका हस्तकला सामग्रीको माग चीन, भारतसहित युरोप, अमेरिकालगायत देशमा निर्यात भए पनि माग पूरा गर्न सकिएको छैन । पुरातत्व विभागका अनुसार विगत छ वर्षमा कुल २५ लाख २३ हजार ८२२ थान मूर्ति विदेश निर्यात भएका छन् । एक सय वर्षभन्दा कम समय भएका हस्तकलाका मूर्तिलगायत सजावटका सामग्री विदेश निर्यात गर्न विभागले प्रमाणीकरण गर्नु पर्छ । एक सय वर्षभन्दा बढीका मूर्ति वा सजावटका सामग्री भए निर्यात गर्न पाइँदैन । नेपालमै मठमन्दिर, ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गरेर अवलोकनका लागि राखिने गरिएको छ । नेपालमा निर्मित हस्तकलाका मूर्ति र सजावटका सामग्री ८० प्रतिशत चीन अरू २० प्रतिशत भारत, युरोप, अमेरिकालगायत देशमा निर्यात हुँदै आएको छ । नेपालबाट चीनमा प्रायः बुद्ध धर्मसँग सम्बन्धित मूर्तिसहित सजावटका सामग्री निर्यात हुन्छन् । जसमा बुद्धका विभिन्न आसनका मूर्ति, बेबी बुद्ध मूर्ति, तारा पञ्चध्यानीलगायत विभिन्न स्वरूपका धातु र प्रस्तरद्वारा तयार सामग्रीसहित थाङ्का निर्यात गरिन्छ । भारतमा प्रायः हिन्दु धर्मसँग सम्बन्धित गणेश, कुबेर, सरस्वती, कृष्ण, दुर्गा, देवीलगायत देवीदेवताका मूर्तिसहित हस्तकलाका अरू सामग्री निर्यात हुन्छन् । हस्तकलाका सामग्रीको व्यापार राम्रो भएकाले राज्यले समेत कर छुट गरिदिएको छ । अतः विश्व बजारको अहिलेको मागलाई पूरा गर्न ठुलो मात्रामा हस्तकलाको निर्माणमा जोड दिनुपर्ने भएको छ ।