सुकुमवासी शिविरको बस्तीभित्र कचहरी चलिरहेको थियो । जान्नेसुन्नेदेखि चुल्ठेमुन्द्रेसम्मको भिड थेगिनसक्नुको थियो । त्यो भिड फत्तबहादुर थापा अर्थात् क्यौरेनीका थापा माइलालाई कारबाहीको अन्तिम तयारीमा जुटेको थियो । गाउँमा पञ्चभेलाका नाममा मन नपरेकालाई चार पाटा मुड्ने, मानव मलमूत्र खुवाउने, गाउँ घुमाउने, मोसो दल्ने, जुत्ताका माला लगाउने सामन्ती अवशेष सकिइसकेको थिएन । राता कमरेडहरूको वडा, टोल र बस्तीसम्म पहुँच भए पनि यस्ता अवशेष उनीहरूका लागि पनि परिचायक नै थियो । आन्दोलनका बेला गाउँमा क्यारेम बोर्डका गोटी र तासका पत्ती चबाउन लगाउनु र मोसो दलेर गाउँ घुमाउनुमा कुन नयाँपन र प्रगतिशीलता थियो
र ? फेरि पनि हिजो सामन्तले गर्ने फैसला र अहिले चौतारामा हुने भेलाले गर्ने उर्दीमा फरक यति थियो कि, हिजो प्रश्न गर्न सकिन्थेन, अहिले प्रश्नैप्रश्नले सबै घेरिएका छन् । फैसला सुनाउनेहरू पनि प्रश्नवाणले घाइते हुने गरेका छन् । यति चाहिँ गणतन्त्रको स्वादिलो फसल बनेको छ । आज सुकुमवासीको शिविर बस्तीमा पनि त्यही प्रश्नैप्रश्नको कचहरीले गाउँ तातिएको छ । भिड बढ्दै गएपछि कोही भात पकाउन छाडेर त कोही अटो, मयुरी चलाउन रोकेर भिडमा सहभागी भएका थिए ।
कथा फरक थिएन । उधुम प्रगतिको विषय पनि थिएन । पहिरोले गाउँ नै पुरिने गरी डाँडा भास्सिएको पनि थिएन । भास्सिने खतरा पनि थिएन । परदेश गएका लोर्के स्याङ्तान तीन महिना नपुग्दै मृत्युको मुखमा परेपछि बट्टामा शव आउँदा ऋणले थिचिएर इन्तु न चिन्तु भएर छोराले ऋण तिर्ने आसामा बाँचिरहेकी आमा खोस्ती स्याङ्तान बेहोस भएर परमधाम गएकी मृत्युको शोक जस्तो पनि थिएन । अनि सौराहामा जन्मिएर (वर्ष पुगेका पाल्तेन होइसान छोर्तेन लामाले आफूलाई नयाँ अवतारमा प्रकट गर्दैै बस्तीमा सबैलाई चिनेको, आफ्नो, घर, बुढी, नातेदार भनेर छक्क पार्दै गाउँमै आएपछि हेर्न जानेको भिड जस्तो पनि थिएन । उसो त गाउँमा कुनै खुसीको रौनकमा हर्कबढाइँ गरेर लगाइएको जुलुस र भोजको अवस्था पनि थिएन । थियो त एउटा सानो बहस । ‘गाउँमा यस्तो भँडुवा र गतिछाडालाई अब पनि कारबाही नगर्ने ? किन कारबाही नगर्ने ?,’ सालपति मगर कराउँदै थिए, ‘दिनदहाडै छरछिमेकमा यस्तो
कुकर्म ?’ उनी यस्तालाई गाउँनिकाला गर्न पर्ने भनिरहेका थिए । अरूहरू पनि ‘होमा हो’ मिलाउँदै थिए ।
पिँढीमा हात बाँधेर राखिएका थिए फत्तबहादुर । २०५० सालको बाढीपछि विस्थापित भएर धेरै गाउँका सर्वसाधारण थातथलो छाडेर बगर बिराएर बस्न थाले । सडकको छेउ, केही गरिखान सकिन्छ कि भनेर बालबच्चा च्यापेर बजारको खाली उकास जमिनमा सुरु भएको बस्ती बिस्तारै सुकुम्वासी शिविरका नाममा विकसित भयो ।
‘वडाध्यक्ष आउँदैनन् जस्तो छ, कति कुर्नु, ल कारबाही सुरु गरौँ,’ चन्द्र घले बोले, ‘यस्ता समाजमा गतिछाडालाई मोसो दलेर गाउँ घुमाउन किन वडाध्यक्ष कुर्नु ?’ ‘थापा माइलालाई मात्र होइन, सेती कमिनीलाई पनि मोसो दल्न पर्छ, गाउँमा यस्ता महिलाले गर्दा हाम्रा छोरीचेलीको पनि इज्जत रहेन,’ आमा समूहकी सचिव सुशीला गहतराज कराउन थालिन्, ‘बुढो एकछिन खेतमा जाँदा घरमै नाठो बोलाएर जात्रा देखाउने, ढोका पनि नलगाई दिउँसो यस्तो काम ?’ ‘यिनीहरू पहिलादेखि नै यस्तै हिमचिम थिए, बुढा सोझो परेर यिनले गाउँमा जात्रा देखाएकी,’ महिला समूहकै सदस्य फतर्की कार्की बोलिन्, ‘यी थापा पनि के देखेर यस्ती हजुरआमाको पछि लागेकी, गाउँमै पहिला पनि हामीले उठबस गराएको बिर्सियौ, छोरानातिले पनि के गरी मुख देखाउने गाउँमा यस्ता त हजुरबुबा छन् ।’ थापा र सेतीलाई कार्बाही गर्ने भनेर सबै हौसिएका छन् । महिला समूहका नजरमा गाउँमा सेती जस्ती महिलाले बदनाम भयो, पुरुषहरू भनिरहेका छन्, ‘थापा माइलाले गर्दा गाउँ बदनाम भयो, कसैलाई घर छाडेर काममा जान पनि नहुने भयो ।’ यही विषयमा हिजो पनि गाउँमा भेला बसेको थियो । हिजो दिउँसैको घटना हो यो । दिउँसो एक जना छिमेकी माइली बल सेतीको घर पुगिन् । ‘आम्मई, के भएको यो, लौ न !,’ बोलाउँदा नबोलेपछि ताला नलागेको ढोका घरक्क पार्दा भित्रको दृश्य देखेर माइली कहालिन् र आत्तिन् । हत्त न पत्त माइला र सेतीले कपडा लगाउन भ्याए । तर गाउँभरि हल्ला चलिगयो । ‘के भयो माइली, किन कराएकी ?’ वरपरका सोधे । ‘यस्तो कुरा के भन्नु, छिः यो सेती र थापा माइला दिउँसै लठारिएछन् !’ अब गाउँमा योभन्दा अरू के चाहियो ? देख्नेले देखे, सुन्नेले सुने । कचहरी बस्नलाई विषय र पात्र भइहाले ।
‘मैले बोलाएको हुँ, मेरो सहमति छ,’ सेतीले भनिन्,
‘हामी पहिला गाउँदेखि नै साथी थियौँ, मन मिलेपछि तन पनि मिल्यो, मेरो कमजोरी हो ।’ सेतीको बयानमा गाउँले खुसी हुन सकेनन् । एक पटक धानको बिउ खाइदिँदा गाईलाई घाइते हुने गरी पिट्नुका साथै घरै आएर नमज्जाले गाली गरेको सम्झिए अरुण बलले । थापा माइलाले १५ वर्षअघि गरेको गालीको बदला लिन मन लाग्यो उनलाई । भने,
‘कतिसम्मको अपराधी, दिउँसै छिमेकमा पसेर राशलीला गर्ने, यस्ता पातकीलाई खसी बनाउनु पर्छ, गोर्खेलौरी बाँधेर गाउँ घुमाउनु पर्छ ।’ एक पटक घट्टमा बाघचाल खेल्दा झेली गरेर चार माना पिठो जितेको रिस थियो उपे्रती साइँलालाई पनि । उनी च्याँठिए, ‘जे’ मा पनि यिनको लामो हात, अर्काको जिनिसमा ¥याल चुहाएर बित्ने भो यिनको जुनी, दसी प्रमाणसहित भेटिँदा पनि छाडियो भने यिनले हाम्रो पनि घर गन्हाउने बनाइदिन्छन् । गाउँमा कि हामी बस्ने, कि यिनी बस्छन्, अब छाड्नुहुन्न ।’ घाँटीका तीन वटा नसा फुले उप्रेतीका पनि । पुरानो रिस फेरे झाँेकले ।
‘होइन दुई दिनेदेखि यसैमा अल्झिने, हाम्रो काम छैन ? रोपाइँको बेला भयो, खेताला छैनन्, यसरी जात्रा देखाएर हुन्छ ?,’ सिरानघरे याक्टा बोले, ‘अहिले एउटाले युट्युबरलाई बोलाएर घटना भनिदिन्छ, अनि हामी सबै पुलिस जानु पर्छ, गाउँको बेइजत भएको भिडियो भाइरल गराउँछ, चाँडै टुङ्गोमा पुगौँ ।’ घाम डुब्नै लाग्दा पनि वडाध्यक्ष जनक घलान आइपुगेनन् । कोही कोही भन्न थाले, ‘आ, छाडिदिउँ, उसको बुढोलाई भा’कै छ, थाहा नभा’को कुरा होइन, थापाका गाउँमा को नै छन् र, यिनलाई चलेकै छ, भयो घर जाउँ, अर्काको घरको कुरामा समय खेर फालेर ।’ सामाजिक क्बलका भाइबहिनीहरू पनि घटनालाई शान्त बनाउन लाग्नु पर्छ भन्न थाले । गाउँमा पुलिस आए नमज्जा हुने, गाउँको बदनाम हुने डर सुनाए ।
झम्के साँझको सङ्केत हुँदै थियो । वडाध्यक्षज्यू आइपुगेनन् । भनेकै थिए, आज म व्यस्त छु, दुई तीन वटा गासा (तामाङ समुदायमा विवाहउत्सव), न्वारान, पास्नीमा व्यस्त छु । भरतपुर पनि पुगेर आउनु पर्छ ।’ च्याउ खाएर बिरामी परेकाहरूलाई अस्पताल पठाइएको छ । वडाध्यक्षको व्यस्तता यस्तैमा त हो । यसैमा केही टाठाबाठा कुर्न थाले । अँधेरो हुन लागिसक्यो । गाउँ घुमाउने भए उज्यालोमै गरौँ, किन ढिलो गर्ने, अँधेरो भएपछि यिनैलाई फाइदा । कसैले चिन्दैनन्, देख्दैनन् । गाउँलेहरू समूह समूह बनाएर खासखुस गर्न थाले । के गर्ने, कसो गर्ने । कोही प्रहरीमा बुझाउँ भन्न थाले । कोही हुन्न, प्रहरीले कागज गराएर फेरि गाउँ पठाउने हो, अहिले मोसो दलौँ र गाउँ घुमाउँ भन्न थाले । गलफत्ती चलिरहेको थियो । फुत्त आइपुगे हलोजुवा बोकेर खेतबाट साइँला कामी ।
‘तिम्री बुढीलाई मोसो दलेर गाउँ घुमाउने भयौँ साइँला दाइ,’ टोलका अगुवा समाज मुक्तानले सुनाए । घर पछाडि हलो बिसाएर सर्टको फेरले पसिना पुछ्दै साइँला बोले,
‘को मुखिया निस्कियो, मोसो दल्ने, हाम्रो गाउँमा गाईको दुधले नुहाएको अनुहार हेरौँ त ।’ साइँलाको कुराले समाज अक्क न बक्क परे । वरपरका छक्क परे । सबैको बोली बन्द भयो । एकछिनको सन्नाटापछि केही बोल्न थाले । ‘के भनेको साइँला दाइ, अनि थापा माइलालाई सधैँ यसरी डामिएको साँढे बनाएर छाडिरहने त ?’ सिस्टम स्याङ्तानले प्रश्न गरे । उनको कुरा सुनेर साइँदा दाइ अरू च्याठिए । ‘ठिक छ, मैले यी बदमासहरूलाई कार्बाही गर्न रोक्दिनँ अब । जति सहनु सहेँ तर यिनीहरूलाई कारबाही गर्ने त कम्तीमा टोलसमाजमा अलि अलि इज्जत भएको हुनु
परेन ? को छ त त्यस्तो भन्न नपाउनु ?’ साइँलाको जिज्ञासाले गाउँको हैसियतमै कैफियत भएको सङ्केत गर्यो । कोही बोल्नै सकेनन् । चारपाँच जना टाठाबाठा मोसो दल्ने, गाउँ घुमाउने भनेर हातमा मोसो बोकेर बसिरहेकाहरू पनि मुखामुख गर्न थाले । ‘के भनेको, गाउँमा सबै कामै नलाग्ने मात्र छन् ?’ यस पटक सर्कस लामा बोले । उनलाई पनि मुखभरिको जवाफ दिए साइँलाले । भने, ‘थापा माइलालाई कार्बाही गर्ने चाहिँ थापा माइला भन्दा बदमास भएको इतिहासको पर्यो भनेर कार्बाहीको बेइजत भएन ? को हो त चोखो, इमानदार यो गाउँमा ?’ साइँलाको प्रश्नले गाउँको टाठाबाठाको मुख सुक्न थाल्यो ।
साइँलाले समाजलाई औँला ठड्याउँदै भने, ‘तैँले कार्बाही गर्ने, तैँ होइनस् अस्ति तल्लो गाउँमा झ्याङे बुढाको बुहारीकहाँ जाँदा सासूससुराले गुहार लगाउँदा गुन्डा लगाएर उनीहरूको स्वर दबाउने, बुहारीसँग
रमाउने ? तँ गाउँमा कारबाही गर्दै हिँड्ने ?’ साइँलाले यति के भनेका थिए । ‘एक छिन है, मेरो मोबाइल आयो’ भनेर खल्तीबाट मोबाइल निकालेर कानमा लगाउँदै समाज ओरालो झरे । हेर्दाहेर्दै उनी त प्रतापपुर पो पुगे । साथीहरूले फोन गरे, व्यस्तका व्यस्त भनिरह्यो । बल्ल बल्ल फोन लाग्यो । उताबाट महिला स्वरमा जवाफ आयो, ‘समाज सर, मोबाइल घरमै छाडेर लोथरतिर जानु भएको छ, को बिरामी पर्नुभयो रे ।’ विस्तारै साइँला कामी हाबी हुँदै गए कचहरीमा । ‘तँ सिरानघरे याक्टा पनि ठुलो कुरा नगर, अस्ति नै हेटौँडा जाँदाको तेरो कर्तुत मलाई पनि थाहा छ, म सोझो भएर चुप बसेको, सुनाइदिउँ तेरो कुरा, विदेशबाट दाइले पठाएको पैसा लिन बैङ्क जाँदा भाउजूसँग उतै बास बसेको ?’ सिरानघर याक्टा निलो भए । ‘मेरो त बाख्रा खोरमा हुल्ने बेला भयो साथीहरू, छलफल गर्दै गर है,’ यति भनेर सिरानघरे याक्टा पनि घरतिरै लाग्दै भने, ‘यहाँ कसैको हित गर्ने वातावरणै छैन, पुराना कुरा निकालेर नयाँ विषयमा साखुल्ले पल्टेर बस साइँला दाइ ।’ उनी पनि खोरमा बाख्रा हुलेर कचहरीमा फर्किएनन् ।
हातमा मोसो खेलाइरहेका थिए सालपति मगर । साइँलाले पुलुक्क उनीतिर हेरे । सालपतिले मुखमा हेर्न पनि सकेनन् । ‘सालको हिसाब त खाइस्– खाइस्, सोझासाझाको वृद्धभत्ताले नपुगेर तँ अब मिटरब्याजी भएर अर्काको बुहारीको पैसामा ब्याज खान थालिस होइन ?,’ साइँलाको प्रश्नले सालपतिको हातबाट मोसोको पोका फुत्त तल झ¥यो । संयोग भनौँ, उनको पनि मोबाइलको घण्टी बज्यो, ‘हेल्लो ।’ हेल्लो, आवाज आएन, को बोलेको, भाग्ने बहाना खोज्दै थिए सालपति नभन्दै पर पुगे । यो दृश्यले ल्याइरहेको सन्नाटा र समाजका सबैको चरित्र उत्रन थालेपछि कसरी यहाँबाट भागौँ भन्ने परिरहेको थियो धेरैलाई ।
‘तिमी नि तिमी फतर्क नानी,’ अब पालो फतर्कीको थियो । साइँला आगोको भुङ्ग्रोमा तातिएको हाँडीमा परेको जुनेलो झैँ महिला पनि नभनी कड्किए, ‘अस्ति सासूससुरालाई, मेरो कुरा छोरालाई भन्यौ भने छोरा आएका बेला म ‘अनाडी’ थिचेर मारिदिन्छु भनेर धम्क्याएको हामीलाई थाहा छैन भनेको ?’ फतर्कीका पनि नौनारी गले । ‘ल तपाईंहरू कचहरी सकाउँदै गर्नुहोस्, म दाल बसालेर आएँ,’ यति भन्न नभ्याउँदै फतर्की ओरालो झरिन् ।
‘ओहो, मैले त भुतुक्कै बिर्सेको, बाख्रा त बारीकै पाटामा पो छन्,’ अरूको जस्तो आफ्नो पनि चरित्र उध्रने डरले उप्रेती कान्छा पहिल्यै बहाना बनाएर भागे । अब थिए बाँकी चन्द्र घले । साइँला कामी भन्न थाले, ‘यो गाउँ यस्तै यस्ताले भरियो, अनि कार्बाही चाहिँ थापा माइला र मेरो बुढीलाई मात्र गरेर हुन्छ त चन्द्र भाइ ? तिमी पनि अस्ति चौकीमा दुई रात सुतेर कागज गरेर आएको होइनौ र ?’ चन्द्र घले बोलेनन् । बिस्तारै युवा, केटाकेटी पाखा लागे । अरू पनि साँझ परिसक्यो भन्दै लाखापाखा भए । थापा माइलालाई कारबाही म गर्छु भनेर कोही बोल्न सकेनन् साइँला कामीका अगाडि । साइँला कामीले जोडले दुई चड्किन थापा माइँलालाई हाने र हात फुकाइदिए । लुसुक्क परेर मुन्टो निहुराउँदै उनी घरतिर लागे । बुढीलाई गालामा एक चड्कन लगाए साइँलाले । ‘माया गरेर विवाह गरेको थिएँ, दुनियाँ हँसाइस्,’ साइँला कामीका आँखा रसाए । गाउँका भद्रभलाद्मी ‘ल त साइँला दाइ, हामी गयौँ’ भन्दै हिँडे । सबै घरतिर लागे । कारबाही गर्ने इमानदारको खोजीमा शिविर व्रिmयाशील छ । त्यतिखेरसम्मका लागि थापा माइलाको कारबाही पनि फुकुवा नै भएको छ भनौँ न । यसरी नै बस्तीमा सबै चलिरहेका छन् । अचेल उनीहरू जल्न छाडेका छन् । जलेका छन् साइँला कामीसँग कि ऊ जस्तै अध्ययनशील, र सहनशील भएर बस्न सके केही ससाना घटनामा यस्तो कचहरी भन्दा उनै साइँला कामी काम आउँछन् भन्ने सबैले बुझेका छन् । यो गाउँको सानो कथाव्रmमले समाजका धेरै पात्रका नउधारिएका कैयौँ आवरण लुकाइरहेको छ । साइँला कामीको हिम्मतले यहाँका आवरण त सबै थोत्रा कोट झैँ ध्यार्र च्यातिए । तपाईंका टोलछिमेकमा कचहरी गर्ने ठालुहरूको अनुहार तपाईंको मनको दहमा पौडी खेल्न थाले कि थालेनन् ? पक्कै केही अनुहार आए होलान् यादमा । समाज यिनैले बिगारेका छन्, विभक्त पारेका छन्, यिनका विरुद्ध बोल्न सकेका दिन ठुलाहरूको कारबाही गर्ने सपना यसरी नै किचिमिची मात्र हुँदैन, यिनको सामाजिक पर्दा पनि च्यातचुत हुनेछ । मधुपर्क