चौतारा समाचारदाता
चौतारा, साउन २९ गते । सिन्धुपाल्चोकको तातोपानीमा बर्खा सुरु भएसँगै निरन्तर सडक अवरुद्ध हुँदै आएको छ । साउनको झरीले पहिरो चलेपछि सडक पूर्ण रूपमा ठप्प भएको हो ।
नेपाल–चीनबिचको उत्तरतर्फको प्रमुख व्यापारिक मार्ग ठप्प हुँदा व्यापारी मारमा परेका छन् । अर्को नाका केरुङ पनि ठप्प नै छ । अरनिको राजमार्गको कोदारी खण्डको इकोमा झरेको विशाल पहिरोले तातोपानी नाका पछिल्लो साता पूर्ण रूपमा बन्द भएको छ । चीनतर्फका छ सयभन्दा बढी कन्टेनर अहिले सीमापारका गोदाम र सडकमा रोकिएका छन् । नेपाल भित्रिएको केही सामान भन्सारसम्म ल्याइए पनि सडक बन्द भएपछि कन्टेनर खोलेर फलफूल, तरकारीलगायतका सामग्री बोकाएर ल्याउनु परेको छ ।
गत असार २४ गते रसुवागढी नाकामा आएको भीषण बाढीले बेलिब्रिज बगाएपछि केरुङ नाका पूर्ण रूपमा बन्द भएको छ । त्यसपछि व्यापारीको एक मात्र आधार तातोपानी नाका बनेकोमा यहाँ पनि एक साताअघिदेखि कोदारी–इको सडकखण्ड अवरुद्ध हुँदा दसैँलक्षित सामान रोकिएका छन् । सडक बन्द हुँदा सामान चीनमै रोकिएको नेपाल हिमालय सिमापार व्यापार सङ्घका अध्यक्ष रामहरि कार्कीले बताउनुभयो । बजारमा समयमा सामान नपुग्दा अभाव हुने उहाँको भनाइ छ ।
सडक बन्द भएपछि फलफूल र तरकारी कन्टेनरमै कुहिन थालेका छन् । कतिपय व्यवसायीले तातोपानीका मजदुरलाई सामान बोकाएर पहिरो पार गराइरहेका छन् । भन्सार कार्यालयले अतिरिक्त समयसम्म काम गरिरहेको भए पनि सडक अवरुद्ध हुँदा सामानको छिटो ढुवानी सम्भव छैन । पैदलयात्रा गर्न पनि गाह्रो हुने अवस्थामा मजदुरले जोखिम मोलेर सामान बोकिरहेका छन् ।
तातोपानी नाका व्यापारिकसँगै धार्मिक मार्गका रूपमा पनि महìवपूर्ण रहेको छ । यही बाटो भएर भारतलगायत अन्य देशका तीर्थयात्री कैलाश मानसरोवर जाने गरेका छन् । अवरुद्ध भएपछि तीर्थयात्रीलाई समस्या परेको छ । एक जना भारतीय तीर्थयात्रीको ‘हाई अल्टिच्युड’ का कारण मृत्यु भएपछि शव लैजानसमेत स्थानीयले सहयोग गरेका छन् । पहिले पनि यस्तै कारणले चार जनाको मृत्यु भइसकेको सीमाक्षेत्र भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष रामहरि कार्कीको नेतृत्वमा गत साता नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई तत्काल पहल गर्न माग गरिएको थियो । सोही समयमा भोटेकोशी गाउँपालिकाले पनि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालसमक्ष सीमानाकाको सडक नियमित गर्न अनुरोध गरेको थियो । “हरेक वर्ष बर्खामा यस्तै समस्या हुन्छ तर सरकारले समयमै तयारी गर्दैन,” सङ्घका वरिष्ठ उपाध्यक्ष सागर घिमिरेले भन्नुभयो ।
“व्यापारीको अर्बौंको सामान चीनमै अड्किएको छ । दसैँतिहार नजिकिँदै गर्दा हामीसँग कुनै विकल्प छैन,” उहाँले भन्नुभयो । सरकारले सडक तत्काल मर्मत, पहिरो व्यवस्थापन र भन्सारको क्षमता अभिवृद्धि नगर्ने हो भने हरेक वर्षको बर्खामा यस्तो सङ्कट निम्त्याउने निश्चित देखिन्छ ।