• २५ साउन २०८२, आइतबार

धवलागिरी क्याम्पसमा प्राविधिक शिक्षा पढाइ हुँदै

blog

बागलुङको बागलुङ नगरपालिका– २ बागलुङ बजारमा रहेको धवलागिरी बहुमुखी क्याम्पसको भवन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली 
बागलुङ (गलकोट) साउन २५ गते ।
धवलागिरी बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरुमा नै सर्वोत्कृष्ट बनेको क्याम्पसले अब भने प्राविधिक विषयमा पठनपाठन थाल्ने भएको हो ।

स्नातक तहमा यसै शैक्षिक सत्रदेखि प्राविधिक विषयको पठनपाठन सुरु भएको कार्यक्रम संयोजक शिव पौडेलले बताउनुभयो । साविकको धौलागिरी क्षेत्रका चार जिल्लामा रहेका क्याम्पसहरुमा बीआईसीटीई कक्षा सञ्चालन गर्ने धवलागिरी पहिलो क्याम्पस भएको हो ।

२१ औं शताब्दीको शिक्षक बन्ने विद्यार्थीको चाहना पूरा गर्ने, प्रविधि र शिक्षा दुवैमा दक्ष बनाउने अभियानअन्तर्गत प्राविधिक विषयमा पठनपाठन सुरु गरिएको पौडेलले बताउनुभयो ।

बिआईसिटिई कार्यक्रमले शिक्षण र डाटा विश्लेषणमा नविनतम् प्रविधिको प्रयोग गर्न सक्ने जनशक्ति तयार गर्ने उनले बताए । डिजिटल युगमा अत्यावश्यक सुरक्षा सीप र नेटवर्क व्यवस्थापनमा दक्ष जनशक्तिको उत्पादन अव धवलागिरीमा नै हुने  अपेक्षा राखिएको छ ।

बिआईसिटिई पढेका विद्यार्थीले सरकारी तथा गैरसरकारी संस्थामा रोजगारीका लागि तयार हुनुका साथै स्वरोजगार बन्न सक्ने भएकाले यसको माग बढेको र  क्याम्पसले  समयको मागलाई ध्यान दिएर प्राविधिक विषय  विद्यार्थीहरुलाई पढाउन थालेको हो ।