शिवशङ्कर मिश्र
बारा, साउन २४ गते । मधेश प्रदेशको आठ वटा जिल्लामा आर्थिकवर्ष २०८१ को साउनदेखि असार मसान्तसम्म ७ हजार ४ सय ४३ वटा दुर्घटना हुँदा ५ सय ६४ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहले दिएको अनुसार पर्सामा ५५६ दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् भने, बारामा १ हजार १४७ घटनाबाट ९३ जनाले ज्यान गुमाएको हो ।
यसैगरी रौतहटमा ८०८ वटा दुर्घटना हुँदा ६६ जना, सलार्हीमा १ हजार ३७ दुर्घटनामा ५६ जना, महोत्तरीमा ६७९ दुर्घटनामा ४५ जना, धनुषामा १ हजार २२१ दुर्घटनामा ८४ जना, सिराहामा ९६७ दुर्घटनामा ८९ जना र सप्तरीमा ८२८ दुर्घटनामा ८४ जनाले ज्यान गुमाएका हुन् । यस क्रममा जम्मा १० हजार ६७२ वटा सवारी साधन एक अर्कोमा ठोक्किएका सिंहले बताउनु भयो ।
यस दुःखद घटनाको तिव्रता देखेर, यातायात नियमको पालना र सतर्कता बढाउनुपर्ने आवश्यकता अत्यन्तै महत्त्वपूर्ण रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एवम् प्रहरी उपरीक्षक रामकुमार सिल्वालले भन्नुभयो ।
मधेस प्रदेशमा सवारी दुर्घटनामा कमी ल्याउन र जनजीवनको सुरक्षामा थप ध्यान दिन यस मातहतका प्रहरीले ट्राफिक जनचेतना सम्बन्धि विविध गतिविधि गर्दै चालकहरुलाई सवारी चलाउदा अति ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी दिने गरेको प्रहरी उपरीक्षक सिल्वालले बताउनुभयो ।
यसरी मधेश प्रदेशमा करिब साढे ५ सय बढी व्यक्तिले सवारी दुर्घटनाबाट ज्यान गुमाउनु कुरा सानो नभएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले जिकिर गर्नुको साथै चिन्ता व्यक्त गर्नुभयो ।
यस्तो घटनालाई न्युनीकरण गर्नु र ट्राफिक सम्बन्धी समाजिक जनचेतना जगाउन गाउँटोल लगायतका ठाउँमा समेत प्रचारप्रसारमा जोड दिन आवश्यकता रहेको उहाँले भन्नुभयो ।
यसैगरी आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि २०८२ असार मसान्तसम्म मधेस प्रदेशका आठ जिल्लामा २० हजार ८ सय ३९ वटा विभिन्न सवारी साधनलाई कारबाही गरिएको छ । त्यसबाट १८ करोड ३७ लाख ९१ हजार ३५९ रुपियाँ राजस्व सङ्कलन भएको छ ।
सो अवधिमा पर्सामा ३० हजार ३२० वटा सवारी साधनलाई कारबाही गर्दा २ करोड ८१ लख ४९ हजार ३५० रुपियाँ, बारामा २३ हजार ४२४ सवारीबाट २ करोड २४ लाख २ हजार, पथलैयामा ११ हजार २५० सवारीबाट १ करोड ५ लाख १० हजार ५०२ रुपियाँ, रौतहटमा १६ हजार २४८ सवारीबाट १ करोड ४७ लाख ३८ हजार, सलार्हीमा २० हजार ९ सवारीबाट १ करोड ९७ लाख ७३ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।
यसैगरी महोत्तरीमा २८ हजार ३३२ सवारीबाट २ करोड ५८ लाख ५४ हजार ५०४ रुपियाँ, धनुषामा २८ हजार ५३५ सवारीबाट २ करोड २१ लाख १० हजार ५ सय रुपियाँ, सिराहामा ३२ हजार १५७ सवारीबाट २ करोड ५१ लख १९ हजार ५०२ रुपियाँ र सप्तरीमा १७ हजार ७६४ सवारीबाट १ करोड २७ लाख ९३ हजार ५०१ रुपियाँ सङ्कलन भएको सूचना अधिकारी सिंहले बताउनुभयो ।
चालु–आर्थिक बर्ष ०८२ को साउन २२ गतेसम्म ६९ वटा दुर्घटना हुँदा एक महिला र दुई जना पुरुषगरी ३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय निजगढ बाराका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनु्भयो ।