काठमाडौँ, साउन २४ गते । नेपाली महिला भलिबलको नयाँ युगको सुरुवात गर्न तयारी अवस्थामा रहेको लुम्बिनी लाभाज टिमले चर्चित नायिका आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।
एभरेस्ट स्पोर्ट्स म्यानेजमेन्ट प्रालि अन्तर्गत सञ्चालनमा रहेको लुम्बिनी लाभाज टिमले महिला खेलाडीहरूको सशक्तीकरण, खेलकुदको लोकप्रियता वृद्धि र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकिने विश्वाससहित नायिका शर्मालाई टिममा स्वागत गरेको हो ।
नायिका आना शर्माले नेपाली सिनेमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसक्सकेकी छिन् । उनी युवापुस्तामाझ प्रेरणादायी छवि बनाएकी कलाकार हुन् । खेल र सामाजिक अभियानमा पनि सक्रिय रूपमा संलग्न रहँदै आएकी शर्माको यो सहभागिता महिला भलिबललाई थप ऊर्जा र प्रेरणा दिने अपेक्षा गरिएको छ ।
लुम्बिनी लाभाजका टिम म्यानेजर स्तुती निरौलाका अनुसार, “हामी केवल खेल जित्न मात्र होइन, सोच जित्न पनि मैदानमा छौँ । आना शर्माको सहभागिता हाम्रो यात्रामा महत्त्वपूर्ण मोड हो । उहाँसँगको सहकार्यले हाम्रो टिमको सामाजिक र सांस्कृतिक प्रभाव थप बलियो हुने छ ।”
नियुक्तिपछि प्रतिक्रिया दिँदै आना शर्माले भन्नुभयो, “लुम्बिनी लाभाजसँग जोडिन पाउनु गर्वको कुरा हो । यो टिम महिला खेलाडीहरूको क्षमता र सङ्घर्षको प्रतिनिधि हो । म यो अभियानमा आफ्नो भूमिकालाई पूर्णरूपमा निभाउने छु ।”
लुम्बिनी लाभाजको यो घोषणा एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिगलाई सशक्त बनाउन गरिएको एक महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ ।