• २४ साउन २०८२, शनिबार

वर्षाले फोहोर व्यवस्थापन प्रभावित

blog

बाटो अवरुद्ध भएर फोहोर बोकेको गाडी साइटसम्म नपुग्ने अवस्थामा । तस्बिर : विनय कर्ण

विनय कर्ण 

कल्याणपुर (सप्तरी), साउन २४ गते । वर्षाका कारण बाटो भत्किएपछि सप्तरीको खडक नगरपालिकामा फोहोर व्यवस्थापन कार्य प्रभावित भएको छ । नियमित रूपमा सबै वडामा सरसफाइ गर्दै आएको नगरपालिकाले 'ट्रेन्च ल्यान्डफिल' सम्म पुग्ने बाटो अवरुद्ध भएपछि फोहोर उठाउने कार्य प्रभावित भएको हो ।

वर्षाले गर्दा 'ट्रेन्च ल्यान्डफिल' सम्म पुग्ने बाटो तीन-चार ठाउँमा भत्किएकाले नगरक्षेत्रभित्र फोहोर उठाउने कार्य तत्कालका लागि रोकिएको नगर प्रमुख जयप्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँले बाटो मर्मतको काम सुरु गरिसकिएको र बाटो सुचारु हुन तीन-चार दिनको समय लाग्ने बताउँदै त्यसपछि फोहोर व्यवस्थापन पुनः नियमित रूपमा सञ्चालन हुने बताउनुभयो ।

मधेश प्रदेशमै एकमात्र खडक नगरपालिकाले ट्रेन्च पद्धतिमा फोहोर व्यवस्थापन गर्दै आएको छ। ट्रेन्चमा छुट्टाछुट्टै प्रकारका फोहोर छुट्टाछुट्टै व्यवस्थापन गरिँदा त्यहाँको फोहोर अन्य स्थानमा नजाने व्यवस्था गरिएको छ।