जनार्जन खत्री
सर्लाही, साउन २३ गते । सर्लाहीको बलरा नगरपालिका–११, छतौनामा शुक्रबार मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बीआर ३० के ४६९४ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५५ वर्षीय चन्दादेवी बैठाको मृत्यु भएको हो । बैठा बलरा नगरपालिकाको कार्यपालिका सदस्य हुनुहुन्थ्यो ।
उहाँलाई बलरास्थित प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा प्राथमिक उपचार गरी प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बलरा नगरपालिका–११, कै ३५ वर्षीय जितेन्द्र ठाकुरसमेत गम्भीर घाइते हुनुभएको छ ।
गम्भीर घाइते ठाकुरलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात वीरगन्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो ।