प्रतीक इच्छुक शर्मा
सल्यान, साउन २२ गते। सल्यानको प्रमुख नदी शारदा नदीमा माछा संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालनमा आएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाको अगुवाइमा त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कालिमाटी गाउँपालिकाभित्र पर्ने शारदा खोलाको वरपर माछा संरक्षण अभियान थालिएको हो।
पालिकामा रहेका सामुदायिक वनका २२ जना प्रतिनिधिलाई तालिम दिएर माछा संरक्षणका लागि परिचालन गरिएको छ।
संरक्षणका क्रममा विस्फोटक पदार्थ, विद्युतीय उपकरण वा विषादी प्रयोग गरी माछा मार्न प्रतिबन्ध लगाइएको छ। वैधानिक जाल प्रयोग, समय र स्थानको ध्यान राखी माछा मार्ने सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
शारदा नदीको २२ किलोमिटर क्षेत्रमा माछा संरक्षण क्षेत्रको रूपमा चिनिएको छ। संरक्षण क्षेत्रमा माछाको प्रजनन स्थल पहिचान गरी ’सहर माछा’ राख्ने तयारी गरिएको छ।
कोषका प्राकृतिक स्रोत संरक्षण सहायक रविन के.सीका अनुसार, शारदा नदीमा विगत एक वर्षदेखि माछा संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको छ।
शारदा र बबई नदीमा गरिएको पछिल्लो अध्ययनमा १७ प्रजातिका माछा पाइएका छन्। ती माछाको वैज्ञानिक नाम र विश्लेषण सार्वजनिक गरिने के.सीले जानकारी दिनुभयो।
त्रिवेणी गाउँपालिकाका प्रशासकीय अधिकृत खुमबहादुर के.सीका अनुसार, शारदा नदी र आसपासका खोलाको वातावरणीय अध्ययन गरेर मात्र प्राकृतिक स्रोतको उपयोग गरिने नीति अपनाइएको छ।