• २४ साउन २०८२, शनिबार

खानेपानीका उपभोक्ताले पाए एक करोड ६७ लाख अनुदान

blog

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, साउन २२ गते ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँले आर्थिक वर्ष २०८१/८२ मा लिफ्टीङ खानेपानी योजनाको एक करोड २९ लाख ६७ हजार रुपियाँ विद्युत महशुल अनुदान दिएको छ ।

प्रदेश सरकारले लिफ्टीङ खानेपानीमा लाग्ने विद्युत महसुलमा अनुदान दिने नीति ल्याएसँगै यो कार्यालयले आफ्नो मातहतका तनहुँ र नवलपुरका एक सय २८ योजनालाई अनुदान दिएको हो । आव २०८०/२०८१ को जेठदेखि वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई सो रकम अनुदान पाएका हुन् ।

आर्थिक वर्ष २०८१/०८२ को जेठ महिनादेखि वैशाखसम्मको महसुल भुक्तानी गरिएको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिनुभयो । जेठ र असार गरी दुई महिनाको चालु वर्ष २०८२/८३ मा भुक्तानी गरिने उहाँले जानकारी दिनुभयो ।  साना खानेपानी उपभोक्ता समितिका लागि गतवर्ष १५ हजार रहेकोमा यसवर्ष वृद्धि गरी २५ हजार पुर्‍याएको छ भने ठुला उपभोक्ता समितिका लागि प्रतिशतको आधारमा भुक्तानी दिने गरिएको छ ।

गत वर्षदेखि यस किसिमको सुविधा सुरु भएको हो । कार्यालय प्रमुख खनालले भन्नुभयो “उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलव्ध गराउने प्रदेश सरकारको उद्वेश्य अनुरुप महसुलमा अनुदानको व्यवस्था गरिएको हो ।” 

 लिफ्टीङ खानेपानी आयोजनामा विद्युत् महशुल अनुदानसम्बन्धी मापदण्ड २०७९ का आधारमा मासिक रुपमा २५ हजार रुपियाँसम्मको विद्युत खपत गर्ने लाभग्राहीलाई शतप्रतिशत अनुदान दिइएको हो । मासिक २५ हजारदेखि ४० हजार सम्मको महशुलमा ७५ प्रतिशत र मासिक रुपमा ४० हजारदेखि ६० हजारसम्मको विद्युत् खपतमा ५० प्रतिशत र मासिक रुपमा ६० हजारदेखि ८० हजारसम्ममा २५ प्रतिशत अनुदान प्राप्त गरेको खनालले बताउनुभयो ।

यस्तै मासिक रुपमा ८० हजारभन्दा बढीको विद्युत खपत गर्ने योजनामा १० प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराएको हो । उपभोक्ताले भुक्तानीका लागि विद्युत महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अनुदान लिन छ/छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि यस कार्यालयमा सिफारिस पेश गर्नुपर्छ ।