राममणि दाहाल
मकवानपुर, साउन २२ गते । बागमती प्रदेशको नवगठित सरकारको मङ्गलबार साँझ बसेको पहिलो मन्त्रीपरिषद् बैठकले प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ ।
बैठकले प्रदेशभित्र बाढीपहिरोलगायतका कारण हुने सम्भावित प्राकृतिक प्रकोपलाई दृष्टिगत गरी जोखिम न्यूनीकरण, प्रतिकार्यलगायतका कार्य सम्पादन गर्न प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले समन्वय गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता तामाङले विपत्पछिको उद्धार, राहतलगायतका कार्य गर्न प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय एकीकृत संयन्त्र गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यसै गरी प्रदेशभित्र बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण वासस्थान गुमेका परिवारलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउने र प्रदेशभित्र बसोबास गर्ने वनकरियालगायतका अतिविपन्न सीमान्तकृत समुदायको उचित वासस्थान व्यवस्थापनका लागि उच्च प्राथमिकता दिएर काम गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।
स्वास्थ्य क्षेत्रका विभिन्न क्षेत्रमा उच्च शिक्षा अध्ययनका लागि विपन्न समुदायलाई छात्रवृत्ति उपलब्ध गराउने निर्णय पनि पहिलो बैठकले गरेको छ । बैठकले प्रदेश सभाबाट पारित गरेको सङ्कल्प प्रस्तावलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
बानियाँ छैटौँ मुख्यमन्त्री
बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ बन्नुभएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश प्रमुखको कार्यालयपसिरमा मङ्गलबार आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री बानियाँलाई शपथग्रहण गराउनुभएको थियो । मुख्यमन्त्री बानियाँले शपथ लिएसँगै एक जान बिनाविभागीयसहित नौ सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको छ । बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १४ वटा मन्त्रालय रहेका छन् ।
मुख्यमन्त्रीको सिफारिसमा नेपाली कांग्रेसका दुई र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट छ जनालाई मन्त्रीमा नियुक्त गरिएको हो । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिसमा मन्त्रीपरिषद् गठन तथा कार्यविभाजन गर्नुभएको हो ।
नवगठित मन्त्रीपरिषद्मा कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङ मन्त्री बन्नुभएको छ । अधिकारीको मन्त्रालय पछि तोकिने भएको छ । तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । कांग्रेसको भागमा परेका छ वटा मन्त्रालय मुख्यमन्त्री स्वयम्ले राख्नुभएको छ । यस्तै एमालेबाट सरकारमा जानेमा किरण थापामगरबाहेक सबै नयाँ अनुहार हुनुहुन्छ ।
अघिल्लो सरकारमा स्वास्थ्यमन्त्री रहनुभएका थापामगरले पुनः स्वास्थ्य मन्त्रालयकै जिम्मेवारी पाउनुभएको छ ।
यस्तै मधुसूदन पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, भरतबहादुर केसीले वन तथा वातावरण मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय र विन्दु श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
प्रदेश सभामा रहेका दुई ठुला दलबिच प्रदेश सभाको बाँकी अवधिमध्ये २०/२० महिना आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति यसअघि भएको थियो । सहमति अनुसार कांग्रेसबाट बहादुरसिंह लामा तामाङ १२ महिनाभन्दा बढी मुख्यमन्त्री रहिसक्नुभएको छ । सहमति कार्यान्वयन भएमा बानियाँ आगामी चैतसम्म मुख्यमन्त्रीमा रहनुहुने भएको छ । त्यसपछि सरकारको नेतृत्व एमालेले गर्ने गरी यसअघि नै सहमति भएको थियो ।
शपथग्रहणपछि मुख्यमन्त्री बानियाँले प्रदेशका नागरिकले अनुभूति गर्ने गरी काम गर्ने र सुशासनलाई जोड दिएर सरकारले काम गर्ने बताउनुभयो ।