• २२ साउन २०८२, बिहिबार

दुर्व्यसनको कारक बेरोजगारी

blog

वर्तमान समयमा लागुपदार्थको प्रयोग सबै देशको समस्याको रूपमा देखिएको छ । स्कुले विद्यार्थीदेखि पाको उमेरका मानिससम्म लागुपदार्थका अम्मली छन् । नेपालमा लागुपदार्थको बेचबिखन तथा दुर्व्यसनको समस्या विगतको वर्षको तुलनामा केही बढेको पाइन्छ । सुरुमा साथीभाइको सङ्गतको कारणले अनुभवका लागि यस्ता पदार्थको सेवन सुरु गरे पनि पछि बानीमा परिणत भई स्वयम् व्यक्तिका लागि यो जटिल बनेको पाइन्छ । सुरुमा खान थालेका युवकयुवती यसको व्यापारमा नै संलग्न देखिन्छ । खास गरी युवापुस्ता यसमा संलग्न हुने र यसबाट अनेक विकृति देखापर्ने अवस्था विद्यमान रहेको छ । युवा भविष्यका आधार हुन् तर युवापुस्तामा आएको यो समस्याले अझ भविष्यका सन्ततिको गुणस्तरीयतामा समेत जटिलता ल्याएको छ । 

लागुपदार्थ बेचबिखन तथा दुर्व्यसन वर्तमान समयमा युवापुस्ताको विनाशको कारण बनेको छ । कतिपय सहरी क्षेत्र दुव्र्यसनी तथा लागुपदार्थको कारोबार हुने क्षेत्रको रूपमा पनि चिनिन थालेका छन् । दिनप्रतिदिन देशैभरिको कुनै न कुनै जिल्लाबाट लागुपदार्थको दुर्व्यसन तथा ओसारपसारका सामाचार प्रकाशन र प्रसारणमा आउँछन् । अहिलेका युवापुस्ता कुलतमा फस्दै जाने, यसको ओसारपसार तथा दुर्व्यसनमा फस्दै जानुका कारण थुप्रै रहेका छन् । 

अहिलेको जटिल र प्रतिस्पर्धात्मक जमानामा चिन्ता, तनाव तथा मानसिक कारणले निराशपूर्ण जीवन बिताउन बाध्य छन् मानिस । निराशा, चिन्ता र तनाव कम गर्ने भ्रममा दुर्व्यसनको लतमा पर्छन्, नसालु पदार्थको आवश्यकता महसुस गर्छन् । पारिवारिक वातावरण, घरायसी विद्रोह साथिभाईको सङ्गत, परीक्षामा असफलता, वैवाहिक जीवनमा तनाव, बेरोजगारी, पारिवारिक कलह, सामाजिक एकतामा कमी, प्रेममा धोका उच्च महत्वाकाङ्क्षा, कमजोर आत्मनियन्त्रण, भविष्यप्रति संवेदनहीन चेतनाको अभाव आदि जस्ता पक्ष मानिसलाई लागुपदार्थको दुर्व्यसनमा फसाउने मूल कारक हुन् । कतिपय युवकयुवती अभिभावकको नियन्त्रणभन्दा बाहिर रहन सक्छन् । काम वा पढाइको सिलसिलामा घरबाहिर हुन्छन् तथा अभिभावकको प्रत्यक्ष निगरानीको अभावमा कुलतमा फस्न सक्छन् । कतिपय खेलाडी प्रतिस्पर्धाको समयमा तत्काल फुर्ति बढाउनको लागि लागुपदार्थ सेवन गर्छन् । 

नेपालमा पर्यटन व्यवसायलाई बढावा दिइआएको छ । पर्यटन व्यवसायको प्रभाव सधैँ सकारात्मक नै हुन्छन् भन्न सकिँदैन । पर्यटकमध्ये कतिपय दुर्व्यसनी हुन्छन् साथै लागुपदार्थको कारोबारमा पनि संलग्न हुन सक्छन् । परिवारका व्यक्तिलाई तथा युवकयुवतीलाई लागुपदार्थ सेवन गर्न सुरु गरेपछि कुलतमा परिणत भई ठुलो समस्या सिर्जना हुन सक्छ भन्ने कुराको जानकारी छैन । छोराछोरीले सेवन गरिहालेमा पनि युवा अवस्थामा त्यस्तै हो भनी छुट दिन्छन् । अभिभावकको छुटको फाइदा लिई सुरु गरेका युवकयुवती अन्ततः कुलतमा फस्न पुग्छन् । कतिपय परिवारमा आफ्ना छोराछोरीले कुलतजन्य कार्य गरे पनि प्रशासनिक र प्रहरी कारबाहीबाट बचाउने प्रयत्न गर्ने चलन छ । समाजले थाहा नपाओस् भनी कतिपय अवस्थामा लुकाइछिपाइ खान दिने पनि गर्छन् । यसले उनीहरूमा लतको विकासमा सघाउ पुग्छ र दुर्व्यसनीले झन् झन् सीमा नाघ्दै जान्छ ।

लागुपदार्थ तथा दुर्व्यसनमा थुप्रै युवकयुवती संलग्न छन् । यसले समाजमा विभिन्न किसिमका नकारात्मक असर तथा प्रभाव पर्न सक्छ । जस्तै लागुपदार्थको सेवनले सेवनकर्ताको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ । यसले मानिसको स्नायु प्रणालीलाई शिथिल बनाई दुव्र्यसनीलाई तत्काल आराम दिलाए जस्तो गर्छ तर त्यसको निरन्तर प्रयोगले मानिसको स्मरणशक्तिमा नकारात्मक प्रभाव पार्छ । साथै सम्पूर्ण स्वास्थ्यमा जटिलता ल्याइदिन्छ । लागुपदार्थको व्यापार गर्ने तथा दुव्र्यसनीहरू सामाजिक समस्याका रूपमा देखा  पर्छ । सुरुमा आफ्नै र परिवारकै पैसाले लागु पदार्थको सेवन गरे पनि लामो समयसम्म आफ्नो पैसाले अपुग भएपछि साथीभाइ समूह बनाई चोरी तथा लुटपाटको घटनामा संलग्नता बढाउँछ, यसले गर्दा व्यक्ति तथा परिवारको मानप्रतिष्ठामा नकारात्मक प्रभाव पर्छ । 

लागुपदार्थ दुव्र्यसनीले परिवारमा विग्रहको वातावरण सिर्जना गर्छ । परिवारमा बेमेल, झै झगडा, अशान्तिको वातावरण बन्छ । इज्जत प्रतिष्ठाको दृष्टिले परिवार नै क्रमशः ध्वस्त उन्मुख बन्दै जान्छ । लागुपदार्थको दुव्र्यसनी परिवारमा बढेमा आर्थिक अवस्था तथा संरचनामा पनि नकारात्मक असर पर्छ । दुव्र्यसनीले सम्पत्ति सकिएको चालै नपाइने, लतमा परिसकेपछि सम्पत्ति जायजेथा सक्दा पनि ग्लानि महसुस नहुने, परिवारको अन्य सदस्यको आवश्यकता र भलाइप्रति पूर्ण वास्ता नगर्ने जस्ता गतिविधि हुन पुग्छन् । यसले व्यक्ति परिवार सबैको गुणस्तरीयतामा नकारात्मक असर गर्छ । 

नेपाललगायत विश्वका थुप्रै देशमा लागुपदार्थको बेचबिखन तथा दुर्व्यसनी समस्याको रूपमा देखा परिरहेको छ । सहरी तथा ग्रामीण क्षेत्रमा खास गरी युवा समूहमा यसको बेचबिखन र दुर्व्यसन बढी देखिन्छ । यसको बढ्दो प्रयोगले व्यक्तिगत, पारिवारिक, सामाजिक तथा राष्ट्रिय समस्या बढ्दै गएको देखिन्छ । यसको समाधान गर्न अनिवार्य छ । लागुपदार्थको बेचबिखन र दुर्व्यसनीबाट सिर्जना हुने समस्याको निराकरणका लागि यसको बेचबिखन र प्रयोगमा नै पूर्ण नियन्त्रण गर्नु आवश्यक छ । लागुपदार्थको उत्पादन, तस्करी र उपलब्धता रोक्न सबै पक्ष कर्तव्यनिष्ठ बन्नु पर्छ । यसका लागि कडा कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन हुनु पर्छ । व्यक्ति तथा परिवारमा यस्ता पदार्थले पार्ने नकारात्मक प्रभावको बारेमा चेतना जगाउन जरुरी छ । 

लागुपदार्थले दुःख, पीडा, तनाव आदि कम गराउन सहयोग गर्छ भन्ने भ्रम निवारणका लागि विभिन्न किसिमका चेतनामूलक कार्यक्रमको कार्यान्वयन गराउनु पर्छ । लागु पदार्थले व्यक्ति, परिवार तथा समाजलाई कसरी र कस्तो किसिमले प्रभाव पार्छ भन्ने जानकारी दिनका लागि यससम्बन्धी विषयवस्तु विद्यालयदेखि नै शैक्षिक कार्यक्रममा समावेश गराउनु पर्छ । लागुपदार्थको दुरुपयोगविरुद्ध सबै सञ्चार माध्यमलाई सक्रिय तुल्याउनु पर्छ । लागुपदार्थको ओसारपसार तथा बिक्री वितरणलाई निरुत्साहित गर्न आवश्यक मात्रामा नियन्त्रणकारी उपाय अवलम्बन गर्नु पर्छ । देशमा व्याप्त बेरोजगारी, स्वतन्त्रता तथा सामाजिक विस्थापन लागुपदार्थको दुव्र्यसनको कारणको रूपमा रहेको छ । यसका लागि समयमै रोजगारीको अवसर पर्याप्त मात्रामा सिर्जना गराउने प्रयत्न गर्नु पर्छ । 

कुलतमा फसिसकेका व्यक्तिलाई मनोपरामर्शद्वारा अथवा कुनै सिपमूलक आयमूलक कामप्रति जिम्मेवार बनाई कुलतबाट मुक्त बनाउने चेष्टा गर्नु पर्छ । त्यस्ता व्यक्तिलाई कुलतबाट मुक्त पार्न प्रेरणा दिई संस्थागत परिचालनको पहलसमेत गर्न आवश्यक छ । लागुपदार्थ दुर्व्यसनीलाई सुरुमै नियन्त्रण गर्न सकेको खण्डमा समाजमा आउने नकारात्मक प्रभाव घटाउन सकिने हुँदा परिवार नै सचेत हुनु पर्छ । सानोतिनो समस्या आउनासाथ प्रारम्भिक अवस्था नै निर्मूल गर्ने चेष्टा गुर्न पर्छ । समाजमा कुलतमा फसेका व्यक्तिबाट आफ्ना सन्तानलाई बचाउन त्यस्ता व्यक्तिसँगको उठबस तथा सम्बन्धलाई नियन्त्रित सीमामा राख्ने गर्नु पर्छ ।