काठमाडौँ, साउन २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिका लागि २४ जनाको नाम सर्टलिस्ट गरेको छ ।
मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(धरान), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन दिएका मध्ये २४ जनाको नाम सर्टलिस्ट गरेको हो । मन्त्रालयले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदका लागि असार चार गते दरखास्त आव्हान गरेको थियो ।
उपकुलपति सिफारिस समितिको मङ्गलबारको निर्णय अनुसार आवेदन पेस गरेका उम्मेदवारमध्ये कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्ताका लागि प्रत्येक प्रतिष्ठानबाट छ–छ जनाको नाम सर्टलिस्ट गरेको छ । चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदका लागि ५५ जनाको आवेदन परेको मन्त्रालयले जनाएकोे छ ।
मन्त्रालयले सर्ट लिस्टमा परेका उम्मेदवारको अन्तवार्ता तथा प्रस्तुतीकरण साउन २२ र २३ गते तोकिएको छ । जसमा पाटनको २२ गते बिहान ९ बजे र पोखराको दिउँसो २ बजे अन्तवार्ता समय तोकिएको छ । त्यसैगरी कर्णालीको २३ गते बिहान ९ बजे र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिउँसो २ बजे अन्तवार्ता हुँदै छ ।
सर्ट लिस्टमा परेकालाई प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा प्रत्येक प्रतिष्ठानबाट तीन तीन जनाको नाम नियुक्तीका लागि सिफारिस गरिने छ ।