• २१ साउन २०८२, बुधबार

काउन्सिलको विशेष परीक्षामा ९१.८२ प्रतिशत चिकित्सक उत्तीर्ण

blog

काठमाडौँ , साउन २० गते ।  विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा ९१.८२ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । 

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा सहभागी परीक्षार्थीमध्ये ९१.८२ प्रतिशत उत्तीर्ण भएका हुन् । काउन्सिल रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार एक हजार ७९ जनाले विशेष परीक्षाको लागि फारम भरेका थिए ।

फारम भरेका मध्ये एक हजार ७६ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये ९९८ जना (९१.८२ प्रतिशत) उत्तीर्ण र ८८ जना फेल भएका छन् । चार  जनालाई परीक्षामा सहभागी बनाइएको थिएन । तीन जना परीक्षामा सहभागी भएका थिएनन् ।  

काउन्सिलले साउन १५ र १६ गते पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा ३६ विषयको परीक्षा लिएको थियो । काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले  हरेक वर्ष काउन्सिलले साउनमा लिने परीक्षामा धेरै परीक्षार्थी पास हुने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “साउनमा लिइने  परीक्षामा भर्खरै पास आउट विद्यार्थी भएकाले रिजल्ट राम्रो आउँछ । गत वर्ष यो महिना लिएको परीक्षामा पनि पास हुने विद्यार्थीको सङ्ख्या धेरै थियो ।” 

चिकित्सा शिक्षाअन्तर्गत विश्वविद्यालयमा एमडी, एमएस तहको परीक्षा उत्तीर्ण गरेपछि चिकित्सकले काउन्सिलको विशेष परीक्षा पनि उत्तीर्ण गरेर मात्रै विशेषज्ञ चिकित्सकको रूपमा आधिकारिता पाउने व्यवस्था छ ।

काउन्सिलले वर्षमा तीन पटक साउन १५ र १६, मङ्सिर १६ र १७ र चैत १९ र २० गते स्नाकोत्तर तहको विशेष परीक्षा लिन तालिका सार्वजनिक गरेको छ ।