कविराज घिमिरे
हिले, साउन २० गते । धनकुटाको चौबिसे गाउँपालिका ६ स्थित राजारानी बजारमा रहेको राजा (पावरक) ताल संरक्षण हुने भएको छ । सिमसारको रुपमा रहेको यो क्षेत्र तालको रुपमा विकास र संरक्षण गर्न लागिएको हो ।
गत वर्ष कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनबाट यो परियोजना छनोटमा परेको थियो । रु. ३५ करोड लगानी प्रस्ताव गरिएको यो आयोजना स्थानीय तहको समन्वयमा निजी क्षेत्र र लगानीकर्ताको सहकार्यमा अघि बढ्न लागेको हो ।
आइतबार राजा ताल निर्माण समन्वय समिति र सहजीकरण समितिको बैठक बसेको र सोमबार स्थानीयसँग छलफल सुरु भएको छ । जग्गाधनीहरूसँग प्रारम्भिक सर्वेक्षण र डिपिआर तयार गर्ने विषयमा छलफल सुरु भएको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो । लगानीकर्ता तथा स्थानीय दुबै पक्ष ताल निर्माण गर्नुपर्छ भन्नेमा एकमत रहेकाले ताल निर्माणको कार्य अघि बढ्ने अध्यक्ष लिम्बुको भनाइ छ ।
अहिलेसम्मको सर्वेक्षण अनुसार राजा ताल क्षेत्रमा ८२ जना व्यक्तिको करिब ११३ रोपनी जमिन सिमसार क्षेत्रको रूपमा छ । लगानीकर्ताहरूले करिब रु. दुई अर्ब बराबरको लगानी गरेर ताल क्षेत्रको पर्यटकीय विकास गर्ने चासो देखाएका छन् । जग्गाधनीहरूसँग जमिन भाडामा दिने, वा आयोजनामा सेयर लिने विकल्पमा छलफल भइरहेको छ ।
राजा र रानी ताल क्षेत्र पूर्णरूपमा निर्माण भएमा रोजगारी सिर्जना, स्थानीय पर्यटन प्रवर्धन र गाउँपालिकाको समृद्धिमा टेवा पुग्ने भएकाले निर्माण हुनुपर्ने स्थानिय मणि चेम्जोङ बताउनुहुन्छ । “बन्नुपर्छ भन्ने कुरामा दुईमत छैन समग्र चौबिसेको विकासका लागि यो भन्नैपर्छ छलफल जारी छ अवश्य बन्छ,” चेम्जोङ भन्नुहुन्छ ।
राजारानीमा रानी ताल पहिलेनै निर्माण गरिएको भए पनि राजाताल सामान्य सिमसारको रुपमै रहँदै आएको थियो । निर्माणाधीन भेडेटार–रबी–राँके राजमार्गसँगै जोडिएको यो ताल क्षेत्र चौबिसे गाउँपालिकाको महत्त्वपूर्ण पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो ।