• १६ चैत २०८०, शुक्रबार

पाठ्यपुस्तक समयमै नपुग्दा ‘बालमनोविज्ञान’मा असर

blog

काठमाडौं, असार ८ गते। शैक्षिक सत्र सुरु भएको डेढ महिना पुगिसकेको छ। विगतमा जस्तै यसपटक पाठ्यपुस्तक अभावको परम्परागत समस्या समाधान हुन सकेन। 

देश चुनावी माहोलमा व्यस्त हुँदा जनक शिक्षा सामग्री केन्द्र मतपत्र छपाइमा व्यस्त भयो। यसले पाठ्यपुस्तकको अभाव देशभर नै भयो।  स्थानीय चुनावका कारण विद्यार्थी मारमा परे। तर, स्थानीय चुनाव सम्पन्न भएको एक महिना बित्दासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। 

जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइ गर्नुपर्ने र कागजको अभाव हुँदा पाठ्यपुस्तकको छपाइमा ढिलाइ भएको हो। अबको १०÷१५ दिनमा पुस्तकको छपाइ सकिने उहाँको भनाइ छ। ‘स्थानीय तहको चुनावका लागि मतपत्र छपाई गर्नुपर्ने भएको र सोही समयमा कागजको अभाव हुँदा पुस्तक छपाइमा ढिलाइ भएको हो,’ उहाँले भन्नुभयो, ‘अब पाँच प्रतिशत पुस्तक मात्र छपाइ गर्न बाँकी छ, त्यो १०/२० दिनमा सक्छौं।’

 कोरोनाको तेस्रो लहरमा कार्यालयमा काम नहुँदाको  असर अहिले  देखिएको उहाँको भनाइ छ। अघिल्ला पाँच/छ वर्षमा पाठ्यपुस्तको अभाव नभएको र अहिले शैक्षिक सत्र ढिला भएका कारण पनि अभाव भएको उहाँ बताउनुहुन्छ। ‘अघिल्लो पाँच/छ वर्षमा पाठ्यपुस्तकमा कुनै समस्या थिएन। शैक्षिक सत्र सुरु भएको १५/२० दिनसम्म पाठ्यपुस्तक नपुग्ने बित्तिकै पठाइएको थियो। त्यो अवस्थालाई अभाव भन्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘अहिले कक्षा ६ र ८ को सामाजिक, नेपाली र अङ्ग्रेजी पुस्तकको अभाव हो। त्यसकारण केही पुस्तक सबै विद्यार्थीलाई पुगेकै छन्।’ अभाव भएको पुस्तकको विवरण पठाउनसमेत विद्यालयलाई  आग्रह गरिएको उहाँको भनाइ छ। 

व्यवस्थापन पक्ष कमजोर 

शिक्षाविद् प्रा.डा हृदयरत्न बज्राचार्यले पाठ्यपुस्तकको अभाव हुनु व्यवस्थापकीय कमजोरी भएको बताउनुभएको छ। शैक्षिक सत्र सुरु हुने कुरा पहिले नै थाहा हुने भएकाले पाठ्यपुस्तकको छपाई समयमै नहुनु व्यवस्थापकीय कमजोरी भएको उहाँको भनाइ छ। ‘शैक्षिक सत्र कहिले सुरु हुन्छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो। विद्यार्थीले पाठ्यपुस्तक बिना पढ्न सक्दैनन्, त्यो पनि थाहा छ। मतपत्र समयमै छापिने तर, पाठ्यपुस्तक छाप्न अनेक बहाना बनाउनु शिक्षाप्रतिको खेलवाड हो,’ डा.बज्राचार्यले भन्नुभयो, ‘यसले विद्यार्थीको सिकाइलाई दीर्घकालीन असर गर्नसक्छ।’ पाठ्यपुस्तक नहुँदा विद्यार्थीले सिकाइ प्रक्रिया नै सुरु नगर्ने भएकाले पाठ्पुस्तकको उपलब्धतामा ध्यान दिनुपर्ने उहाँको सुझाव छ।

 ‘विद्यार्थीको मनोविज्ञानमा असर पर्छ’

पाठ्यपुस्तक समयमै हातमा नपुग्दा विद्यार्थीको बाल मनोविज्ञानमा असर पर्ने शिक्षाविद् डा. विनयकुमार कुशियैत बताउनुहुन्छ।  ‘समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्दा उनीहरुको मनोविज्ञानमै असर पर्छ,’ उहाँले भन्नुभयो ‘पुस्तक नभएसम्म विद्यार्थीले पढाइ सुरु भएको महसुस नै गर्दैनन्।’

 नेपालको सन्दर्भमा सिकाइको प्रणाली नै पाठ्यपुस्तकमुखी रहेकाले यसको उपलब्धता छिटो हुनुपर्ने उहाँ बताउनुहुन्छ। ‘नेपालमा सबै सिकाइ पाठ्यपुस्तकमुखी छ, अन्य देशमा पुस्तक नभए पनि सिकाइ निरन्तर हुन्छ’, उहाँले भन्नुभयो। शैक्षिक सत्र सुरु भएको एक हप्ताभित्र पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नैपर्ने नियम भए पनि एक महिनासम्म्म नपुग्नु दुःखद भएको उहाँ सुनाउनुहुन्छ।


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।