गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता गरी नयाँ सङ्कल्प गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै उहाँले माओवादी पार्टीलाई विभाजन गर्न षड्यन्त्र भइरहेको चर्चा गर्नुभयो । पार्टी विभाजन गर्न खोज्ने प्रतिक्रियावादीसँग अन्तिम लडाइँ लड्न बाँकी नै रहेकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता आवश्यक रहेको उहाँको भनाइ छ ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, “प्रतिक्रियावादीहरूले हाम्रो पार्टीलाई विभाजन गर्न अनेक षड्यन्त्र गर्ने, जालझेल र लगानी गर्दै आएका छन् । हामी शान्ति सम्झौतामा आयौँ, त्यतिबेलादेखि नै षड्यन्त्र, छलछाम जारी नै छ । उहाँले भन्नुभयो, “जनतामा भ्रम छर्ने, क्रान्तिकारीलाई घेरा हाल्ने कसरत गरिरहेका छन् ।” २०५९ साउन १८ गते दोलखाको शैलुङस्थित बोत्लेमा तत्कालीन शाही सुरक्षाकर्मीले १५ जना माओवादी कार्यकर्ताको हत्या गरेको स्मरणस्वरूप स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ ।
गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने
यसैबिच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा जसले गल्ती ग¥यो, उसैले आत्मालोचना गर्नुपर्ने बताउनुभएको छ । आइतबार स्थायी समिति बैठक सकिएपछि पार्टी कार्यालय पेरिसडाँडामा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले गल्ती गरेकाले आत्माआलोचना गर्नुपर्ने बताउनुभएको हो ।
बैठकको सुरुको दिन शुक्रबार एजेन्डा प्रस्तुत गर्ने क्रिममा उहाँले पार्टीभित्रको आन्तरिक विवादलाई बाहिर लगेर पार्टीविरोधी तत्वलाई फाइदा पु¥याएको भन्दै आत्मालोचना गर्न सचेत गराउनुभएको थियो ।
आइतबारको बैठकमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशार पुन, उपमहासचिव शक्ति बस्नेत, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, सचिव चक्रपाणि खनाल, डिलाराम आचार्य, हितमान शाक्यलगायत १९ जनाले अध्यक्षको प्रस्तावमाथि सुझाव राख्नुभएको छ । सोमबार ११ बजे सुरु हुने बैठकमा महासचिव देवप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बोलेपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक समापन हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।