जनार्जन खत्री
सर्लाही, साउन १८ गते । अनुदान रकमलाई निरन्तरता दिन माग गर्दै उखु किसानले पुनः संघर्ष गर्ने भएका छन् । सरकारले यो वर्षदेखि उखुको अनुदान रकमका लागि बजेट विनियोजन नगरेपछि किसानहरु संघर्षमा जाने बताएका हुन् ।
उखु किसानले आन्दोलनको चेतावनीसहित आइतबार तराईको विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । चिनी मिल रहेका जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको केन्द्रीय उखु किसान सङ्घर्ष समितिका सहसंयोजक राजकुमार उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार सर्लाहीमा नेपाल उखु उत्पादक महासङ्घकै नेतृत्वमा र अन्य जिल्लामा उखु उत्पादक सङ्घको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको छ ।
उखु खेती हुने जिल्लाका किसानले साउन २० गते आफ्नो जिल्लामा रहेको चिनी मिल अगाडि टायर बालेर प्रदर्शन गर्ने भएका छन् । आफूहरुको मागका सम्वन्धमा साउन महिनाभरी सुनुवाई नभए आगामी भदौ ८ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा गएर धर्नामा बस्ने निर्णय भएको केन्द्रीय उखु किसान सङ्घर्ष समितिका संयोजक श्यामबाबु रायले बताउनुभयो ।
उखु किसानले उखुको अनुदानलाई निरन्तरता दिन, गत क्रसिङ सिजन २०८१–८२ मा बिक्री गरेको उखुको अनुदानबापत पाउनुपर्ने एक अर्व ६० करोड रुपियाँ तुरुन्त भुक्तानी गर्न र उखुको मूल्य तय गर्दा उखु किसान, उद्योगी र सरकारबिच छलफल गरेर मात्र मूल्य निर्धारण गर्न माग गरेका छन् ।
१६ वर्षदेखि पाउँदैआएको उखुको अनुदान अहिले आएर कटौति हुने भएपछि अगुवा उखु किसान र विभिन्न राजनीतिक दलले प्रधानमन्त्री, कृषि मन्त्रीलगायतलाई भेटेर अनुदान रकमलाई निरन्तरता दिन माग राखेका छन् ।