• १८ साउन २०८२, आइतबार

हराउँदै झुला महोत्सवको रौनक

blog

जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित झुला महोत्सव । तस्बिरः लक्ष्मी चौधरी ।

लक्ष्मी चौधरी

जनकपुरधाम, साउन १८ गते । मिथिला क्षेत्रको महत्वपूर्ण लोकपर्वमध्ये एक झुला महोत्सव हो । नवविवाहिता जोडिले मनाउने मधुश्रावनी पर्व सकिएलगत्तै झुला महोत्सव सुरु हुन्छ । 

पछिल्लो समय झुलाको रौनक दिनप्रतिदिन हराउँदै गएको स्थानीयको बुझाइ छ । विगतमा जकपुरधाम लगायत मिथिला क्षेत्रका विभिन्न मठमन्दिरमा देखिएको झुला महोत्सव घटेर जानकी मन्दिर, राम मन्दिर, रत्नसागरमा मात्र झुलाको लोकगीत गुञ्जिन थालेको छ । 

बर्खा ऋतुको कजरील, मल्हारलगायतका लोकगीत दिनहुँ गुन्जिने जनकपुरधामका मठ मन्दिरमा ती लोकगीतसँगै भक्तजनको घुइँचो र नाचगान गर्ने कालाकारको रौनक पनि घट्दैगएको हो ।

“अहिलेको झुला महोत्सव विगतको तुलनामा धेरै फिक्का भइसकेको छ”, झुला महोत्सवका नियमित सहभागीता जनाउने भक्तजनहरुमध्येका एक जनकपुरधामका स्थानीय शंकर झाले बताउनुभयो । जनकपुरधामको झुला महोत्सवमा चार दशकभन्दा बढी समयदेखि सहभागी हुँदैआएको उहाँले बताउनुभयो ।

पहिले रङ्गभूमि मैदानमा आयोजना हुने मनिपर्वत हेर्नेहरुको घण्टौं रमाइलो चल्थ्यो, अहिले त्यो १०–१५ मिनेटमै सकिन्छ र पहिले राति १–२ बजेसम्म झुला महोत्सव सञ्चालन हुन्थ्यो, भक्तजनको भिड लाग्थ्यो । अहिले कार्यक्रम साँझ ९ बजे नै समापन हुन थालिसकेको छ, उहाँले भन्नुभयो । 

हिन्दु संस्कृति परम्परा जोगाउन यस्ता लोकपर्व, संस्कृति, कला र गीतहरू गुन्जिन आवश्यक रहेको उहाँको भनाइ छ । यहाँ तीन तहको सरकार हुँदा पनि यस्ता संस्कृति जोगाउन कसैले चासो नदिएका कारण मिथिलामा मनाउने लोक संस्कृतिको रौनक हराउँदै गएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको भनाइ छ । 

उहाँका अनुसार भुला महोत्सवका कारण ऋतु वर्णन, विरहवेदना, राधाकृष्ण लीलाको प्रचुरता रहने कजरीका विषयवस्तु अहिले मिथिलाबाट लोप हुने अवस्थामा छन् । ‘मिथिलामा मात्र नभएर अयोध्या, वृन्दावन, काशीमा समेत मनाइने झुला पर्वमा पहिला विवाहपञ्चमी जसरी रौनक हुन्थ्यो, डोला निकालिन्थ्यो, डोला हेर्न नेपालका विभिन्न स्थान र छिमेकी राष्ट्र भारतका भक्तजनहरू यहाँ आउने गर्थे । अहिले सीमित मन्दिरमा रौनक देख्न पाइन्छ र भक्तजन सीमित भएका छन् उहाँले भन्नुभयो । 

यस्तै, मणिमण्डपका महन्थ नवल दासका अनुसार पनि पहिले गाउँबाट भक्तजनहरु झुला हेर्न आउने गर्थे । अहिले टोलछिमेकका मात्र आउँछन् । जसलेगर्दा महोत्सवको रौनकता पनि हराउँदै गएको छ । झुला मिथिलाको लोक संकृतिमध्ये एक महत्वपूर्ण मानिने संस्कृति हो, जसलाई जोगाउन कसैले चासो देखाएका छैनन् । त्यसकारण झुला महोत्सवको रौनक पहिलेजस्तो छैन ।

विशेषगरी साउन महिनामा मनाइने झुला पर्वका अवसरमा यहाँका मठमन्दिरमा साउनका गीतहरु कजरीसँगै पावस, मल्हार, बारहमासा र झुलाजस्ता लोकगीतहरू गाउने र नाच्ने चलन रहेको छ । यतिबेला झुला पर्व सीमित मन्दिर र यसमा गाइने लोकगीतहरू पनि सीमित भएका कारण भक्तजनहरूको संख्या पनि घट्दै गएको उहाँको कथन छ । 

साउन शुक्ल तृतीया तिथिबाट सुरु भएको महोत्सव पूर्णिमासम्म जारी रहनेछ । यस महोत्सवमा भगवान श्रीराम, माता सीतासहितका देवी देवतालाई कलात्मक झुलामा राखेर १५ दिनसम्म प्रत्येक साँझ रेशमको डोरीले तानेर झुलाइने परम्परा छ । 

संस्कृतिविद परमेश्वर कापडीका अनुसार, झुला महोत्सव मिथिलाको लोकजीवन, पद्धति, संस्कार, मन र प्राणसँग जोडिएको एक गहिरो सांस्कृतिक पर्व हो । यो उत्सवमा मिथिलावासीहरू प्रकृतिसँग आत्मीय सम्बन्ध गाँस्दै झुला झुल्दै रमाउने परम्परा रहिआएको छ ।

“झुला महोत्सव केवल धार्मिक उत्सव मात्र होइन, यो हाम्रो जीवनशैली, प्रकृतिप्रतिको सम्मान र सांस्कृतिक भावनाको अभिव्यक्ति हो, कापडीले भन्नुभयो । अहिले यो प्राकृतिक रूपमा मनाइने परम्परागत उत्सवलाई आधुनिकताले धमिल्याइरहेको छ भने सजावट, ध्वनि प्रदूषण र औपचारिकताको नाममा परम्पराको मौलिकता हराउँदै गएको उहाँको भनाइ छ । 

जानकारहरुका अनुसार जयपुरको गलता मठबाट आएका रामानन्दी सम्प्रदायका सन्त सुरकिशोर दासले सन् १७३० बाट जनकपुरधाममा झुला महोत्सव सुरु गर्नुभएको थियो । रामानन्दी सम्प्रदायका भए पनि रसिक सम्प्रदायप्रति झुकाव राख्ने सन्त दासले माता सीतालाई पुत्रीभावले झुलाउने गर्नुभएको धार्मिक अध्येताहरूको भनाइ छ । 

जानकी मन्दिरका पूर्व महन्थ दासकै सम्बन्ध भावअनुसार उहाँ पछिका महन्थहरूले सीता माताको पूजाअर्चना पुत्रीभावले गर्दै आउनुभएको छ । ‘भगवान र भक्तबिचको यो सम्बन्ध अनौठो छ । सन्त दासकै समयमा जनकपुरधाममा सनातन धर्मको संरचनात्मक र सांस्कृतिक आधार बलियो भएको बताइन्छ ।