• १८ साउन २०८२, आइतबार

नेपाल–चीन मित्रता

blog

नेपाल र चीन असल मित्र हुन् । दुई देशबिच लामो समयदेखि घनिष्ट सम्बन्ध रहँदै आएको छ । पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध दुवै मुलुकले पारस्परिक हितका निम्ति सहकार्यको यात्रालाई निरन्तरता दिएका छन् । बौद्ध दर्शन र संस्कृतिको जगमा सूत्रपात भएको नेपाल–चीन सम्बन्ध सन् १९५५ को अगस्ट १ मा दौत्य सम्बन्धमा परिणत भयो । दुवै राष्ट्रले त्यसबेलादेखि पञ्चशीलका पाँच सिद्धान्त अनुसार एकअर्काका क्षेत्रीय अखण्डता तथा सार्वभौमिकताको पारस्परिक सम्मान; अनाक्रमण; आन्तरिक मामिलामा अहस्तक्षेप; समानता र पारस्परिक लाभ तथा शान्तिपूर्ण सहअस्तित्वको मैत्री सम्बन्धमा प्रतिबद्ध रहँदै आएका छन् । कुल १४१४ किलोमिटर हिमाली भूभागबाट जोडिएका दुवै राष्ट्रबिच ७० वर्षअघि दौत्य सम्बन्ध स्थापनाबाट राजनीतिक, आर्थिक तथा सांस्कृतिक सहयोगको औपचारिक थालनी भएको हो । इतिहास, भूगोल र संस्कृतिले सयौँ वर्षदेखि जोडिएका दुवै मुलुकबिच नेपालका बौद्ध विद्वान् बुद्धभद्रले बौद्ध धर्मको प्रचारप्रसारमा चीनमा २५ वर्ष बिताउनुभयो । चीनका प्रसिद्ध बौद्ध विद्वान् फायान र वेन साङको लुम्बिनी भ्रमण गर्नुभयो । नेपाली राजकुमारी भृकुटीको तिब्बतका राजकुमार स्रङचङ गम्पोसँगको वैवाहिक सम्बन्ध गाँसियो । नेपाली कलाकार अरनिको नेतृत्वमा बेइजिङमा निर्माण गरेको श्वेत चैत्य, तिब्बतसँग विद्यमान व्यापारिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धले दुवै राष्ट्रबिच दौत्य सम्बन्ध स्थापना गर्न आधारशिला निर्माण गरेका थिए । 


कूटनीतिक सम्बन्ध स्थापनाको सात दशकका अवधिमा दुवै देशको सम्बन्ध तथा सहयोग पञ्चशीलका आधारमा विकास विस्तार हुँदै गएको छ । राज्यस्तरमा विद्यमान सम्बन्धलाई छिमेकी चीनबाट विगत सात दशकका अवधिमा दुई राष्ट्रपति, पाँच प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा विदेशमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूको औपचारिक र अनौपचारिक भ्रमण तथा नेपाली पक्षबाट चीनमा भएका विभिन्न भ्रमणले सम्बन्ध सुदृढीकरणमा इँटा थप्ने काम गरेका छन् । नेपाल चीनबिच शान्ति तथा मैत्री सन्धिमा सन् १९६० अप्रिल २८ मा हस्ताक्षर भएको थियो । सन् १९६१ मा दुवै देशबिच सीमा सन्धि भयो । राष्ट्रपतिस्तरमा सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनको नेपाल भ्रमणपछि चीनबाट सर्वोच्च स्तरमा सन् २०१९ अक्टोबर १२–१३ मा वर्तमान राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण गर्नुभयो । नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति सीले नेपाल र चीनबिचका सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभएको थियो । यो भ्रमणसँगै चीनले नेपालसँगका बढी नाका खोलेर हिमाल वारपार बहुआयामिक सञ्जालको निर्माण गर्ने तथा भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने सपना साकार पार्न आधारशिला तयार भयो । नेपालको राजनीतिक घटनाक्रममा चीन तटस्थ बस्दै आएको छ । सात सालदेखि २०६५ जेठ १५ पछि गणतन्त्रात्मक शासनव्यवस्थामा प्रवेश गर्दासमेत बेइजिङबाट नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन देखिएको छैन । चीन आफ्नो सार्वभौमिकता र राष्ट्रिय अखण्डताप्रति संवेदनशील छ । चीनको यो संवेदनशीलतालाई नेपालले राम्ररी आत्मसात् गर्दै एक चीन नीतिप्रति सधैँ प्रतिबद्धता जनाउँदै आएको छ । 


नेपालभन्दा क्षेत्रफलमा चीन ६५ गुणा ठुलो तथा ९६ लाख वर्ग किलोमिटर क्षेत्रफल र एक अर्ब ४० करोड जनसङ्ख्या भएको जनवादी गणतन्त्र चीन पछिल्ला वर्षमा सफल आर्थिक शक्ति राष्ट्रका रूपमा विश्व मानचित्रमा देखा परेको छ । सन् १९११ मा सन यात सेनको नेतृत्वमा चीन भएको प्रजातान्त्रिक क्रान्तिले राजतन्त्र अन्त्य गर्‍यो । त्यसको चार दशकपछि सन् १९४९ को अक्टोबर १ मा माओ सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल भई चीन जनवादी गणतन्त्र बनेको हो । माओको निधन र सांस्कृतिक क्रान्ति अन्त्यपछि सन् १९७९ मा नेता देङ सियाओपिङद्वारा सुधार र खुलापनको नीति अवलम्बन गरिएपछि चीनले राजनीतिक–आर्थिक काँचुली फेर्न सफल भएको छ । सात दशकका अवधिमा नेपाल तथा चीनबिच आर्थिक सहयोगका क्षेत्र निरन्तर विस्तार हुँदै गएको छ । चीनका राष्ट्रपति सीले सन् २०१३ दीर्घकालीन महìवको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)’ परियोजना सार्वजनिक गर्नुभएको छ । यो परियोजनाको १२ वर्षका अवधिमा विश्वका विभिन्न १५० भन्दा बढी राष्ट्रसँग बिआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्दै १.३०८ खर्ब अमेरिकी डलरभन्दा बढीको प्रतिबद्धता सार्वजनिक गरिसकेको छ । नेपालले सन् २०१७ को मे १२ मा बिआरआईसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको छ । यस परियोजनाबाट नेपालले पनि लाभ लिन सक्ने सम्भावना बढेको छ । चीनले हालका वर्षमा दक्षिण एसियाली मुलुकसँग समेत ‘नेबरहुड डिप्लोमेसी’ को सिद्धान्त अन्तर्गत सम्बन्ध र सहयोग विस्तार गर्दै गएको छ । यो स्थितिमा एसियाको यस भूभागको साझा समृद्धिका लागि नेपाल, चीन तथा भारतबिच त्रिपक्षीय समझदारी हुन सकेमा चीनको चमत्कारपूर्ण आधुनिकीकरणबाट नेपालले मनग्गे लाभ लिन सक्ने छ ।