• ७ वैशाख २०८१, शुक्रबार

कोरियाका लागि भाषा परीक्षा सम्पन्न

blog

काठमाडौँ, असार ८ गते । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ पहिलो चरणको भाषा परीक्षा सम्पन्न भएको छ । सन् २०२२ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका निम्ति जेठ १९ गतेदेखि असार ३ सम्म सञ्चालनमा भएको भाषा परीक्षामा छ हजार १०६ जना सहभागी भएका हुन् ।  

 वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार कृषि तथा पशुपालनतर्फको पहिलो चरणका लागि छ हजार ५९७ जनाले आवेदन दिएकामा ४९१ जना भने परीक्षामा सहभागी भएनन् । सो शाखाका अनुसार दोस्रो चरणमा चार हजार २६१ जनाले आवेदन दिएका छन् । दोस्रो चरणका लागि असार १३ देखि २२ गतेसम्म परीक्षा सञ्चालन गरिने सो शाखाले जनाएको छ । 

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटवालले पहिलो पटक यूबीटी (युबिक्युट्स बेस टेस्ट) ट्याबमार्फत भएको परीक्षा विगतको तुलनामा मर्यादित र व्यवस्थित भएको बताउनुभयो । उहाँका अनुसार यसअघिका वर्षहरूमा भाषा परीक्षा पेपर बेस टेस्ट (पीबीटी) रूपमा गरिँदै आएकोमा यो पटकदेखि यूबीटी (युबिक्युट्स बेस टेस्ट) ट्याबमार्फत गरियो । यसअघिका परीक्षामा नक्कली विद्यार्थी धेरै हुने गरे पनि यो पटक भने परीक्षाको रोस्टममा परेका अघिल्लो दिन बायोमेट्रिक गरेर मात्रै परीक्षा दिने व्यवस्था गरिएकाले त्यो समस्या नभएको निर्देशक कटवालले जानकारी दिनुभयो ।  

दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो । ईपीएस शाखाका अनुसार सन् २०२२ मा ईपीएसमार्फत कोरिया जानका लागि ४४ हजार ८५३ जनाले आवेदन दिएकोमा कृषितर्फ १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ जना रहेका छन । 

 सन् २०१९ पछि दुुई वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ का लागि नौ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित आवेदन माग गरिएको थियो । दक्षिण कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले कृषि तथा पशुपालन क्षेत्रमा दुुई हजार ७४१ र उत्पादनमूलक क्षेत्रमा छ हजार ९१३ नेपाली लैजाने भनेको छ । 

सन् २००८ देखि हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा पछिल्लो दुुई वर्ष कोरोना सङ्क्रमणका कारण स्थगन गरिएको थियो । कोरिया र नेपाल सरकारबीच भएको श्रम समझदारीपत्र (एमओयू) अनुसार कोरियामा नेपाली युवालाई श्रमिकका रूपमा पठाउन पहिलो चरणको छनोटका लागि भाषा परीक्षा गर्न लागिएको हो । कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ ।