गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा रोजगारीको प्रशस्तै सम्भावना रहेको बताउनुभएको छ । काठमाडौँमा शुक्रबार आयोजित ‘केसीसी एक्जिबिसन–२०२५’ को उद्घाटन गर्दै मन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको बताउनुभयो । युवाले सूचना प्रविधि (आइटी) क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताउँदै मन्त्री गुरुङले सूचना प्रविधिले गरेको विकासका कारण विदेशमा धेरै मुलुक अगाडि बढेको जानकारी दिनुभयो ।
नेपालमा सूचना प्रविधिको विकासका थुप्रै सम्भावना रहे पनि प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र आइटी इन्फ्रास्ट्रक्चरको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नु परेको मन्त्री गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “तर पनि एआईलाई नै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगारी पाउने अवसर बिस्तारै राज्यले निर्माण गर्दै छ ।”
“यो वर्ष हामी आइटीसम्बन्धी इन्फ्रास्टक्चरको निर्माण गर्नेदेखि फोरजीको विस्तार र फाइभजीको आरम्भ गर्ने तयारीमा छौँ,” नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो ।”