सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, साउन १६ गते । नेपालको उत्तरी सीमा तातोपानी नाकास्थित कोदारी लोकमार्ग अन्तर्गत इकु पहिरो दैनिक खस्ने व्रmममा रहेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको भोटेकोशी गाउँपालिका–२ स्थित इकु पहिरो सामान्य बर्सातले पनि दैनिक झर्ने र पन्छाउने काम हुँदै आएको छ । इकु पहिरो खसिरहने हुँदा तातोपानी नाकाबाट आएका मालवाहक कन्टेनर दैनिक जसो घण्टौँ रोकिने गरेका छन् । इकु पहिरो पन्छाउन र भासिएको स्थान उठाउन नसक्दा कहिले त हप्ता दिनसम्म उक्त सडकखण्डमा यातायातका साधन तथा कन्टेनर आउजाउ गर्न पूर्ण रूपमा बन्द हुने गरेका छन् ।
इकु पहिरो झरिरहने समस्यासँगै अर्कोतर्फ सोही पहिरोमुनि रहेको भोटेकोशी नदीको बहाबले सडकलाई तानिरहेको छ । नदीले तानेर भासिएको सडक उठाउन सडक डिभिजन कार्यालयले हैरानी बेहोरिरहेको छ । दिनहुँ खस्ने पहिरोले कन्टेनर मात्रै होइन, बिरामी बोक्ने एम्बुलेन्सलगायतका अत्यावश्यक सवारीसाधन पनि रोकिनु परेको छ ।
तातोपानी नाका जोड्ने २६ किलोमिटर बाह्रबिसे–कोदारी लोकमार्ग अहिले बर्सातका कारण जीर्ण बनेको छ । बर्खाभर उक्त सडक भासिने क्रम नरोकिँदा समस्या उत्पन्न हुँदै आएको छ । नियमित सञ्चालनका लागि सडक विभाग निरन्तर लागिरहेको डिभिजन प्रमुख अमित श्रेष्ठले जानकारी दिनुभयो ।
बाह्रबिसे–कोदारी सडक अवरुद्ध हुँदा तातोपानी नाकाबाट भन्सार प्रक्रियाका लागि उताबाट छुटेका दर्जनौँ कन्टेनर खासा, लिपिङमा रोकिँदै आएका छन् । असार महिनाभर नाकाछेउको कोप्लाङ सडक १५ फिटसम्म भासिएपछि एक साताभन्दा बढी सो सडक पूर्ण रूपमा बन्द भएको थियो । बर्खायामको सुरुवातसँगै दर्जनौँ स्थानमा सडक बग्ने र पहिरो खस्ने समस्याले दिनहुँ अवरुद्ध हुँदै आइरहेको छ ।
भोटेकोशी नदीको बाढीले लार्चामा हाल नयाँ बेलिब्रिज जडान गरिएको छ । पहिरो जाँदा होस् या भासिँदा, नाका आबद्ध व्यापारिक सङ्घ
संस्था, जलविद्युत् आयोजना, भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाले सडकको अवस्था सुधारेर आवागमन सञ्चालन गर्दै आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो ।