लीलाराज खड्का
बिर्तामोड, साउन १५ गते । झापाको शिवसताक्षी नगरपालिका-११, दुधे रङ्गशालामा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने भएको छ ।
आयोजक झापा महिला गोल्डकपले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीको बारे जानकारी दिएको हो ।
शिवसताक्षी नगरपालिकाद्वारा यस क्षेत्रमा निर्माणाधिन दुधे रङ्गशालामा हुने उक्त प्रतियोगितामा आयोजक टिमसहित नेपालका विभागीय टिम त्रिभुवन आर्मी, एपिएफ र नेपाल प्रहरी,
छिमेकी मुलुक भारत र भुटानको एक एक टिम तथा ‘ए’ डिभिजनका थप दुई गरी आठ टिमको सहभागिता रहने आयोजक समितिका संयोजक सन्तोष थ्रोपा लिम्बुले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न कुल एक करोड रुपियाँ लगानी हुने आयोजकले जनाएको छ ।
विजेता टोलीलाई हालसम्म नेपालको प्रतियोगितामा महिला फुलटबलको सर्वाधिक पुरस्कार सात लाख ५० हजार रुपियाँ प्रदान गरिने पनि अध्यक्ष थ्रोपाले जानकारी दिनुभयो । प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थ्रोपा रोषन, उपप्रमुख नरमाया कार्की, झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ्ग लगायातले प्रतियोगिता सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।