• ७ जेठ २०८१, सोमबार

सेयर बजारमा हरियाली

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ असार ८ गते । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजार १९औँ कारोबार दिनमा सुधारिएको छ । लगातार १८ कारोबार दिनसम्म ओरालो लागिरहेको बजार साताको तेस्रो दिन ४० अङ्कले सुधारिएको हो । नेप्से सुधारिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खस्किएको छ । 

मङ्गलबार सेयर बजार मापक नेप्से परिसूचक ३९.९३ अङ्कले उकालो लागेर १९२४.७४ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.९० अङ्कले उकालो लागेर ३७५.०९ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से २.१२ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि २.४३ प्रतिशतले उकालो लागेको छ ।

लगातार ओरालो बाटोमा लागेको सेयर बजार १८ सयको बिन्दुमा पुगेको थियो । साताको दोस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक ४९.३१ अङ्कले ओरालो लागेर १८८४.८१ को बिन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ७.६६ अङ्कले ओरालो लागेर ३६६.१९ को बिन्दुमा पुगेर रोकिएको थियो । समग्रमा सोमबारको नेप्से २.५५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि २.०५ प्रतिशतले ओरालो लागेको थियो । नेप्से ओरालो लागे पनि सोमबारको कारोबारमा अघिल्लो दिनको तुलनामा बढोत्तरी आएको थियो ।

मङ्गलबार दिनभर २३१ कम्पनीहरूको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर २५ हजार ३६४ पटक खरिदबिक्री हुँदा एक अर्ब २५ करोड ३७ लाख ५७ हजार ७१५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । मङ्गलबार ११ करोड ७२ लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर नेपाल टेलिकम कारोबार रकमका आधारमा अगाडि देखिएको छ ।