• १५ साउन २०८२, बिहिबार

अस्ट्रेलियामा निर्मित पहिलो रकेट दुर्घटनाग्रस्त

blog

वेलिङ्टन, साउन १४ गते । देशको माटोबाट कक्षमा पुग्ने प्रयासमा अस्ट्रेलियामा निर्मित पहिलो रकेट बुधबार १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त भएको छ । गिलमोर स्पेस टेक्नोलोजीद्वारा प्रक्षेपण गरिएको एरिस रकेट देशबाट उडान भर्ने पहिलो अस्ट्रेलियामा डिजाइन र निर्माण गरिएको परिक्रमा प्रक्षेपण यान थियो र साना उपग्रहहरूलाई कक्षमा लैजानका लागि डिजाइन गरिएको थियो । 

यसले बुधबार बिहान स्थानीय समयमा क्विन्सल्यान्ड राज्यको उत्तरी भागमा रहेको सानो सहर बोवेन नजिकको स्पेसपोर्टबाट परीक्षण उडानमा प्रक्षेपण गरेको थियो । अस्ट्रेलियाली समाचार आउटलेटहरूद्वारा प्रकाशित भिडियोहरूमा २३ मिटर (७५ फिट) रकेट प्रक्षेपण टावरलाई खाली गरेको देखिन्छ र दृष्टिबाट बाहिर खस्नुअघि हावामा उडिरहेको देखिन्छ । घटनास्थल माथि धुवाँको लहरहरू उठेको थियो । हताहत भएको कुनै खबर आएको छैन ।

कम्पनीले फेसबुकमा पोस्ट गरेको वक्तव्यमा प्रक्षेपणलाई सफलताको रूपमा स्वागत गरेको छ । एक प्रवक्ताका अनुसार सबै चार हाइब्रिड-चालित इन्जिनहरू प्रज्वलित भए र पहिलो उडानमा २३ सेकेन्ड इन्जिन बलेको समय र १४ सेकेन्डको उडान समावेश थियो । गिलमोर स्पेस टेक्नोलोजीजले मे र यस महिनाको सुरुमा रकेटको अघिल्लो प्रक्षेपणहरूको योजना बनाएको थियो, तर प्राविधिक समस्या र खराब मौसमका कारण ती कार्यहरू रद्द गरेको थियो ।

सिइओ एडम गिलमोरले एक विज्ञप्तिमा रकेट लन्चप्याडबाट निस्किएकोमा खुसी भएको बताउनुभयो ।  “निस्सन्देह म अधिक उडान समय मन पराउँथे तर यसबाट खुसी भएँ”, उहाँले लिङ्कडइनमा लेख्नुभयो । गिलमोरले फेब्रुअरीमा एक निजी रकेट कम्पनीले आफ्नो पहिलो प्रयासमा सफलतापूर्वक कक्षमा प्रक्षेपण गर्नु ‘लगभग नसुनिएको’ कुरा थियो ।

रकेटले जमिन छोडेमा प्रक्षेपणलाई सफल मान्ने कम्पनीले पहिले नै बताएको थियो । “प्रक्षेपण स्थलको पूर्वाधार ‘अक्षुण्ण रह्यो’”, विज्ञप्तिमा भनिएको छ । स्थानीय ह्विटसन्डे क्षेत्रीय काउन्सिलका मेयर राई कोलिन्सले यान कक्षमा नपुगे पनि पूरा भएको प्रक्षेपण ‘ठुलो उपलब्धि’ थियो भन्नुभयो । “यो हाम्रो क्षेत्रमा भविष्यको व्यावसायिक अन्तरिक्ष उद्योगको विशाल छलाङतर्फको महत्त्वपूर्ण पहिलो कदम हो”, उहाँले फेसबुकमा लेख्नुभयो ।

गिलमोर स्पेस टेक्नोलोजीजसँग निजी कोषकर्ताहरू छन् र यस महिना एरिस रकेटको विकासका लागि देशको सङ्घीय सरकारबाट ५० लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) अनुदान प्रदान गरिएको थियो । यसले अस्ट्रेलियामा नयाँ अन्तरिक्ष प्रविधिहरूको विकास र व्यावसायीकरणलाई अगाडि बढाउन सन् २०२३ मा सरकारसँग फर्मको पाँच करोड २० लाख अस्ट्रेलियन डलर अनुदान सम्झौतालाई पछ्याएको थियो ।

एरोस्पेस समाचार प्लेटफर्म नासास्पेसफ्लाइटका अनुसार यो देश सयौँ उप-कक्षीय वाहन प्रक्षेपणको स्थल भएको छ तर अस्ट्रेलियाबाट कक्षमा दुई वटा मात्र सफल प्रक्षेपण भएको छ । पहिलो एरिस परीक्षण उडान ५० वर्षभन्दा बढी समयमा अस्ट्रेलियाबाट पहिलो कक्षीय प्रक्षेपण प्रयास थियो । रासस/एपी