काठमाडौँ, साउन १३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय आइटी सेल गठन भएको छ । आइटी सेलको प्रमुखमा महेश चौरसिया चयन हुनुभएको छ ।
पार्टीको सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको सचिवमा पनि चौरसियालाई मनोनीत गरिएको छ । सोमबार पार्टी कार्यालय बालकुमारीमा जितेन्द्र यादवको अध्यक्षता तथा महासचिव लालबाबु राउतको उपस्थितिमा बसेको बैठकले पार्टीको केन्द्रीय आइटी सेलको गठन, त्यसको प्रमुख चयन र सचिवसहित सूचना तथा सञ्चार विभागलाई १८ सदस्यीय विस्तार गर्ने निर्णय गरेको हो ।
आधुनिक सञ्चार एवं प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै पार्टीको विचार र मुद्दालाई मूलधारका सामाजिक सञ्जालको प्रयोग, परिचालनलाई पार्टीको हितका लागि प्रभावकारी ढङ्गले जनतामाझ लैजाने, पार्टीको गतिविधि एवं संरचनालाई आधुनिक आइटीमैत्री बनाउने उद्देश्यले चौरसियाको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय आइटी सेल गठन गरिएको विभागका प्रमुख यादवले बताउनुभयो ।
सामाजिक सञ्जालमा सक्रिय रहेका, आइटीको प्राविधिक पक्षमा दख्खल राख्ने, प्रचारप्रसार सामग्री तयार गर्नसक्ने, फोटो भिडियोको सम्पादनबारे जानकार भएका र समग्रमा चर्चित सामाजिक सञ्जाललाई पार्टीको हितमा प्रयोग गर्नसक्ने क्षमता भएका सङ्गठित सदस्यलाई समेटेर दक्ष आइटी टिम निर्माण गरिएको यादवले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार विभागको सदस्यमा प्रदीप घतान, मुसाहिद हुसेन, रसना यादव, इमान राई, मनोजकुमार यादव, अमरेन्द्र यादव, रेणुराज सिंह र अजय वर्मालाई चयन गरिएको छ । त्यस्तै, अभरेन्द्र यादव, विनित यादव, गौतम यादव, ओम यादव (मनिष), प्रभातकुमार सिंह (पिन्टु), श्याम यादव, दीपु कापर र कमलेश यादव पनि विभागको सदस्यमा मनोनीत गरिएको छ । रासस