• १२ साउन २०८२, सोमबार

कृषि कर्मको सम्मान

blog

समाज रूपान्तरण गर्न एउटा पुस्ता साहसी, त्यागी र बलिदान गर्न तयार हुनु पर्छ । समाजमा चेतनाको दियो बाल्न झन् ठुलो कठिनाइ झेल्नु पर्छ । त्यसो गर्न सके आउँदो पुस्ताले रूपान्तरणका लागि लडिरहनु पर्दैन । सामाजिक जागरण र चेतनाको दियो बाल्ने उद्घोषसहित लमजुङको दुराडाँडामा २००६ साल साउन ११ गते बाहुनहरूले हलो जोतेर समाज रूपान्तरणको जग बसालेका थिए । इतिहासमा त्यसलाई ऐतिहासिक घटनाको संज्ञा दिइएको छ । त्यतिबेलाको समाजमा बाहुनले हलो जोत्ने कार्यलाई निषिद्ध मानिन्थ्यो । जसको श्रेय पण्डित तोयनाथ अधिकारी, मुखिया हरिदास अधिकारी, लेप्टन शेषकान्त अधिकारी र मुखिया हरिभक्त पौडेललाई जान्छ । उहाँहरूको त्यो बलिदानलाई दुराडाँडाले मात्रै होइन , सिङ्गो नेपाली समाजले उच्च सम्मान गरेको छ । माथि जहानियाँ राणाको हुकुमी शासन थियो भने गाउँघरमा उनीहरूकै भजन गाउने सामन्तको रजगज । समाजमा चेनताको दियो बाल्नु पर्छ भनेर बोल्न सक्ने आँट र सामथ्र्य कसैसँग थिएन । एकतन्त्रीय हुकुमी शासनको थिचोमिचोविरुद्ध अब उठ्नु पर्छ भनेर सिङ्गो समाजलाई एकताबद्ध गर्नु कम चुनौतीपूर्ण थिएन । हलोक्रान्ति त्यही हुकुमी शासनका विरुद्ध नागरिक शासन स्थापित गर्ने अभियानको जग थियो । हलो जोत्ने अभियानको नेतृत्व गर्नुभएको थियो पण्डित तोयनाथले । उहाँले आफ्नै बारीमा गोरु नार्न लगाएर चार सियो जोत्नुभयो । चार वटा सियोको आफ्नै अर्थ थियो । कृषि क्रान्ति थाल्नु, शिक्षाको ज्योति बाल्नु, राजनीतिक परिवर्तन गर्नु र समाजमा समानताको भावना जागृत गर्नु । दुराडाँडामा हलो जोतिएपछि त्यसको सिको गर्दै तनहुँमा २००६ साल पुसमा, धादिङ र कास्कीमा सोही साल फागुनमा, गोरखामा २००७ साल वैशाखमा र अर्घाखाँची र स्याङ्जामा २००७ मा बाहुनले हलो जोतेर जहानियाँ राणा शासनलाई चुनौती दिने काम गरे । त्यतिबेला दलितले मात्रै हलो जोत्नु पर्छ भन्ने मान्यता स्थापित थियो ।

हलोक्रान्तिको उद्देश्य बाहुनले हलो जोत्नेसँग मात्र सम्बन्धित थिएन । समाजमा विद्यमान निरक्षरता उन्मूलन गर्ने, दलितले पनि पढ्न पाउनुपर्ने, जातीय विभेद हटाउने, गरिब किसान र जग्गाधनीबिचको तेउ प्रथा अन्त्य गर्ने, महिलालाई पनि शिक्षित बनाउने र दुरा जातिको उत्थान गर्ने जस्ता पवित्र उद्देश्य थिए । यो अभियानले गरिब किसानलाई सहयोग पुर्‍यायो । सबै जातिले हलो जोत्न थालेपछि समयमा खेती लगाउन थालियो । उत्पादन पनि बढ्न थाल्यो । कृषिकर्मको पनि सम्मान भयो । नेपाली समाजको बाँच्ने आधार नै कृषि थियो । आयआर्जनको मुख्य व्यवसाय कृषिलाई बनाइँदा त्यसले सबैलाई आत्मनिर्भर बनाउन सहयोगी भूमिका निर्वाह ग¥यो । त्यसपछि गृहस्थीका लागि हलो जोत्ने कार्य प्रतिष्ठित मान्न थालियो । बाहुनले हलो जोतेपछि त्यसको विरोध हुन थाल्यो । राणाका समर्थक मानिनेहरूले समाज भाँड्न अनेक प्रपञ्च गर्ने नै भए । सामाजिक बहिष्करणका काम पनि भए । माइत आएका छोरी घर जान पाएनन् । हलो जोतेको हेर्न जानेहरूलाई समेत अछुतको व्यवहार गर्न थालियो । बाहुनकी छोरीबुहारी घरमाइत गर्न पनि पाएनन् । केही समयपछि सबै कर्मको सम्मान हुन थाल्यो । गृहस्थीका लागि हलो जोत्ने कार्य मर्यादित र प्रतिष्ठापूर्ण मान्न थालियो । दलित र बाहुन बराबर हो भन्ने मान्यता स्थापित भयो । यो ऐतिहासिक घटनाको प्रभाव सिङ्गो नेपाली समाजमा पर्‍यो । चेतना र जागरणको यो अभियानले कृषि क्रान्ति मात्रै भएन ,२००७ सालको क्रान्ति सफल बनाउन महत्वपूर्ण भूमिका पनि निर्वाह गर्‍यो । 

आजको समाज भिन्न छ । कृषिकर्मको सम्मान घट्दै गएको छ । हिजोसम्म कृषिप्रधान मुलुक भनेर चिनिने नेपालबाट वार्षिक धानचामल आयातमा ४० अर्ब रुपियाँ बाहिरिएको समाचारले निकै दुखित तुल्याएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ४० अर्ब १८ करोड रुपियाँको धानचामल आयात गरिएको छ । ग्रामीण बासिन्दा सहरतिर बसाइँ सरेपछि जमिन बाँझो हुने, काम गर्न सक्ने युवापुस्ताले देश छाड्ने र सहरी क्षेत्रको खेतीयोग्य जमिन प्लटिङ गरेर घडेरीमा परिणत भएपछि आयातमा निर्भर हुनुको विकल्प छैन । अब राज्यले आयातको यो क्रम रोक्न पहल गर्नु पर्छ । खेतीयोग्य जमिन बाँझो राख्न नदिन स्थानीय तहसँग समन्वय गरेर कार्यक्रम ल्याउनु पर्छ । हिजो कृषिकर्मको सम्मान बढाउन बाहुनले हलो जोतेका थिए, त्यसो भनेर आज पनि हलो जोत्ने कार्यलाई प्रोत्साहन गर्नु पर्छ भन्ने होइन । यान्त्रिकीकरण र व्यावसायीकरण गरी कृषि कर्मलाई सम्मानीत बनाउँदै स्वनिर्भर अर्थतन्त्रको मार्गमा अग्रसर हुनुको विकल्प छैन ।