• १३ साउन २०८१, आइतबार

घरपरिवारबाटै महिला हिंसा बढ्यो

blog

कावासोती, असार ७ गते । महिलाका लागि घरेलु हिंसा अभिशाप बन्ने गरेको छ । महिला भएकै कारण श्रीमान् तथा आफन्तबाट हुने मानसिक, शारीरिक तथा यौनजन्य हिंसा नेपाली महिलाका लागि अभिशाप बन्ने गरेको हो । एक अन्तर्राष्ट्रिय अध्ययनले विश्वमा हरेक तीन जना महिलामध्ये एक जनाले कुनै न कुनै प्रकारको हिंसा भोग्ने गर्छन् । यस्तो हिंसामा संलग्न पीडक व्यक्ति पीडित महिलाको आफन्त, नातेदार तथा चिरपरिचित हुने गरेको बताइएको छ ।

विज्ञान र प्रविधिको दुरुपयोगले महिलालाई थप पीडित बनाएको छ । प्रविधिबाट महिलामाथि अप्रत्यक्ष रूपमा गम्भीर प्रकृतिको हिंसा हुने गरेको सम्बद्ध अधिकारी बताउँछन् । प्रविधिको प्रयोगबाट हुने हिंसामा पीडक व्यक्तिको पहिचान गर्न समेत समस्या हुन्छ । 

अनौपचारिक सेवा केन्द्र इन्सेकका अनुसार घरपरिवार, कार्यालय र सार्वजनिक यातायात महिला हिंसाको उच्च जोखिमभित्र पर्छन् । नेपालको सन्दर्भमा भने पितृसतात्मक सोचका कारण पनि महिलामाथि हिंसा हुने गरेको महिला अधिकारकर्मीको भनाइ छ । 

महिला हिंसासम्बन्धी आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका उजुरीमध्ये घरेलु हिंसाको घटना धेरै रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । गत वर्ष साउनादेखि यो जेठ महिनासम्म १३१ घरेलु हिंसाका निवेदन परेका छन् । 

 पूर्वी नवलपरासी जिल्ला प्रहरी प्रमुख प्रज्वल महर्जनले अधिकांश घरेलु हिंसासँग सम्बन्धित रहेको बताउनुभयो । उहाँका अनुसार, साउनमा २२, भदौमा ११, असोजमा ८, कात्तिकमा ७, मङ्सिरमा १०, पुसमा ७, माघमा १२, फागुनमा ९, चैतमा  १८, वैशाखमा  १५, जेठमा १२ वटा घरेलु हिंसासम्बन्धी उजुरी दर्ता भएका छन् । 

यो तथ्याङ्कले नेपाली समाजमा महिलामाथि हुने हिंसाको चित्र प्रस्तुत गरेको छ । कतिपय इज्जतका लागि भन्दै सहन बाध्य छन् । प्रहरी प्रमुख महर्जन भन्नुहुन्छ, हिंसाको चरम अवस्था पुगेपछि मात्र पीडित प्रहरीसम्म पुग्ने गर्छन् । इन्सेकको तथ्याङ्कनुसार विश्वमा हरेक दिन १३७ जना महिला आफ्नै परिवारका सदस्य वा सहयोगीबाट मारिन्छन् । आधाभन्दा बढी महिला आफ्नै जीवनसाथी वा श्रीमान्, सासू र ससुरालगायत आफन्तबाट मारिने गरेका छन् । विश्वमा ३५ प्रतिशत महिला घरेलु हिंसाबाट प्रभावित हुने गरेका छन् । 

महिला अधिकारकर्मी शिलु थापा पुरुषवादी संरचनाको छत्रछायामा हुर्के बढेका श्रीमान् (पुरुष)ले श्रीमती वा महिलालाई तल्लो दर्जा ठानेर दुव्र्यवहार, हिंसा र हत्या हुने गरेको बताउनुहुन्छ । कतिपयका लागि घरपरिवार तथा जीवनसाथीबाट हिंसा हुन्छ भन्ने कुरा पत्याउन गाह्रो हुनसक्छ । तर, नेपाली समाजको यथार्थ यही हो । जीवनसाथीको हिंसाबाट आजित पूर्वी नवलपरासी कावासोतीकी सपना मगर (नाम परिवर्तित ) जीवन कहालीलाग्दो छ । 

उहाँले जीवनसाथीले दिएका यातना र हिंसाविरुद्ध न्यायको ढोका ढक्ढकाउँदै आधा उमेर गइसकेको छ । तर, पनि न्याय पाउने आस मारेकी छैन, उहाँले भन्नुभयो, महिला अधिकार र लैङ्गिक समानताका कुरा गर्छन हामी जस्ता पीडितका लागि हर्ष न विस्मात ।  महिलामाथि हुने हिंसा तथा विभेद अन्त्यका लागि कानुनी उपचारसँगै विभेदकारी नीतिमा परिवर्तन, सामाजिक सचेतना, शिक्षा र रोजगार आवश्यक रहेको अधिकारकर्मीहरू बताउँछन् । 


Author

मीना कँडेल