• १० साउन २०८२, शनिबार

१७ जनाले त्यागे नेपाली नागरिकता

blog

जिल्ला प्रशासन कार्यालय पाल्पा । तस्बिर : गोरखापत्र

रेखीराम राना
तानसेन, साउन ९ गते ।
पाल्पामा गत आर्थिक वर्ष २०८१/०८२ मा १७ जनाले नेपाली नागरिकता त्याग गरेका छन् । विभिन्न देशको नागरिकता लिएका १७ जना व्यक्तिहरूले नेपाली नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

नेपाली नागरिकता त्याग गरेका अधिकांशले अमेरिकी नागरिकता लिएका छन् । १७ जनामध्ये आठ जना अमेरिकी नागरिकता लिने रहेका पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले जानकारी दिनुभयो ।

यस्तै, तीन/तीन जनाले बेलायत र अष्ट्रेलियाको नागरिकता लिएका छन् । तीन जनाले भारत, हङ्कङ् र इटलीको नागरिकता लिएको प्रजिअ सुवेदीले बताउनुभयो । अघिल्लो आव २०८०/०८१ मा भने ३१ जनाले नेपाली नागरिकता त्याग गरेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये अधिकांश मानिसले अमेरिकी नागरिकता लिएको प्रशासनले जनाएको छ ।

यस्तै, गत आवमा १२ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा सबैभन्दा बढी भारतका रहेका छन् । १२ जनामध्ये ११ जना भारतका र एक जना युरोपेली नागरिकले वैवाहिक अङ्गीकृत नागरिकता पाएको सहायक प्रजिअ ऋषिराम सुवेदीले बताउनुभयो ।

प्रशासनले गत वर्ष १४ हजार ९०३ वटा वंशजको आधारमा नागरिकता जारी गरेको छ । यस्तै वंशजकै आधारमा पाँच हजार ३०६ वटा नागरिकताको प्रमाणपत्रको प्रतिलिपी जारी गरेको उहाँले बताउनुभयो ।

यस्तै नयाँ राहदानी आठ हजार ७७ वटा प्रविष्ट गरिएको छ भने ३४ हजार ५४ वटा राहदानी वितरण गरेको प्रशासनले जनाएको छ । यस्तै २५५ वटा गत आवमा नावालक परिचयपत्र जारी गरेको प्रशासनले जनाएको छ ।