• १० साउन २०८२, शनिबार

सुर्खेतमा एक वर्षमा चार सय २३ सवारी दुर्घटना : ३८ जनाको मृत्यु

blog

दुर्घटनामा परेको बस । फाइल तस्बिर

नवीन सुवेदी
सुर्खेत, साउन ९ गते ।
आर्थिक वर्ष २०८१/०८२ मा सुर्खेतमा चार सय २३ सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये २९ जना पुरुष १२ जना चालक, ६ जना महिला, एक बालक र तीन जना बालिका रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ६ सय ७३ सवारी दुर्घटनामा २८ जनाको मृत्यु र एक हजार १८४ जना घाइते भएका थिए । तर २०८१/८२ मा दुर्घटना सङ्ख्या घटेर चार सय २३ पुगे पनि मृतक सङ्ख्या बढेर ३८ पुगेको र घाइते नौ सय ३६ जना रहेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाहीबाट २०८०/०८१ मा एक करोड १५ लाख ९९ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको थियो । यो वर्ष २०८१/८२ मा १७ हजार १५१ सवारी साधन कारबाहीमा परी एक करोड ४५ लाख १५ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा राजस्व २९ लाख १५ हजार पाँच सयले वृद्धि भएको हो ।

कारबाहीमा परेका सवारी साधनमध्ये ६ हजार ७५० मोटरसाइकल, तीन हजार ७२ जिप र कार र भ्यान, दुई हजार ८ सय ६१ ट्रक र टिप्पर, दुई हजार २५ अटो टेम्पो, एक हजार ६१४ बस र मिनि बस र ८ सय २९ ट्याक्टर छन् । मोटरसाइकलबाट ५४ लाख २६ हजार, जिप र कार,भ्यानबाट २३ लाख ४६ हजार पाँच सय, ट्रक र टिपरबाट २७ लाख ६० हजार, अटो टेम्पोबाट १९ लाख २४ हजार पाँच सय, बस र मिनिबसबाट १४ लाख ४४ हजार पाँच सय, ट्याक्टरबाट ६ लाख १३ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।

सचेतनामूलक कार्यक्रम र सुधार

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालयले क्याम्पस, विद्यालय, चालक, सह–चालक र पैदल यात्री लक्षित दुई हजार पाँच सय ३४ ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । यसबाट एक लाख १३ हजार एक सय दुई जना लाभान्वित भएका छन् ।

त्यस्तै, मापसे चेकजाँच कडाइ, राडार गनको प्रयोगमार्फत गति नियन्त्रण, आठ सय ८६ रोड फर्निचर स्थापना, ओभरलोड नियन्त्रणका लागि दुई सय ६ अतिरिक्त सिट हटाउने, मोडिफाइ गरी चर्को आवाजमा चलाउने ८४ सवारी नियन्त्रण गरी कारबाही गरिएको छ ।