• १० साउन २०८२, शनिबार

सांस्कृतिक पर्वको पनि राजधानी

blog

नेपालको सबैभन्दा प्राचीन संस्कृतिमा बौद्ध संस्कृति निकै महत्वपूर्ण रहेको छ । नेपालको उत्पत्तिको सम्बन्धमा बौद्ध संस्कृृतिलाई पनि एक आधार मानिएको छ । नेपालको उत्पत्ति र यहाँको बौद्धधर्म, संस्कार र संस्कृति विषयमा स्वयम्भू पुराणमा उल्लेख छ । विशेषतः स्वयम्भू पुराणभित्र स्वयम्भू ज्योति रूप उत्पत्ति, मञ्जुश्रीले पानी विस्थापित गरेको सप्ततथागतको स्वयम्भू दर्शन, अष्टवैराग द्वादश तीर्थको कथा, धर्मश्रीको मञ्जुश्रीको भेट, शान्तिकराचार्यले स्वयम्भू स्थापना र रातो मच्छेन्द्रनाथ नेपाल ल्याइएको जस्ता कुरा समावेश छन् । यहाँका अधिकांश नेवार समुदाय बौद्ध संस्कृति अनुरूप आफ्नै मौलिक भाषा, संस्कृति, रीतिरिवाज र परम्परा वेशभूषा छन् । नेवार जातिमा पनि आफ्नो जनजीवन दुई मार्र्गीमा विभाजन छन् । हिन्दुमार्गी अन्तर्गत ब्राह्मण वर्गमा देवभाजु, राजोपाध्याय, मिश्र र अन्य पाँचथरे नेवारहरू श्रेष्ठ, राजभण्डारी, जोशी र प्रधान आदि पर्छन् । बौद्धमार्गी अन्तर्गत वज्राचार्य, शाक्य, उदास, ज्यापु, चित्रकार, रञ्जितकार, मानन्धर, तन्दुकार, माली र कसाई आदि जातिमा पर्छन् । नेवार समुदायले जन्मदेखि मुत्युको अवस्थासम्म गरिने परम्परागत सामाजिक संस्कार र विधि व्यवहार चलाउँदै आएका छन् । 

मनुष्य जीवनको हरेक क्षणमा हुने विभिन्न घटनामा मृत्यु हुनुपर्ने अवस्था स्वाभाविक छ । बौद्ध अन्य क्रियाकर्ममध्ये मृत्युपछि बौद्ध पद्धति अनुसार अन्त्येष्टि संस्कार गर्ने गर्छन् । परिवारको मृत्युमा परलोक सुधार, दुर्गति निवारण, सदगति, देवगति, दैत्यगति, मनुष्यगति, तीर्थकगति, नरकगति वा पे्रतगति आदिमा नलागियोस् सुखावती भुवनवास होस्, मोक्ष प्राप्त होस् भनी विभिन्न क्रिया कर्म गरिन्छ । प्रत्येक वर्षको साउन महिनामा गुँला पर्व पर्छ । यो महिनाभरि बौद्ध नेवारहरू स्वयम्भू र विभिन्न चैत्य विहारमा प्रदक्षिणा गर्ने गर्छन् । यसै गुँलाको अवसरमा नेवार बौद्ध समुदायमा शृङ्गभेरी अर्थात् न्यकुबाजा फुकाउने चलन छ । वर्षभरि दिवङ्गत भएका आफ्ना परिवारका सदस्यको आत्मा शान्ति होस, सुखावती भुवन बास परोस् भनि श्रृङ्गभेरी बाजा (नेकुबाजा) बजाई स्वयम्भू महाचैत्यको प्रदक्षिणा गराइन्छ । ललितपुरमा पनि गुँलाको अवसरमा श्रावणकृष्ण द्वितीयाका दिन मतयाः (दीपयात्रा) शृङ्गभेरी यात्रा  गराइन्छ । काठमाडौँ र ललितपुरमा मात्र होइन नेपालको ठाउँ ठाउँमा लामा गुरुहरूले असिना परेको बेला तन्त्र मन्त्र उच्चारण गरी सिङबाजा फुक्ने चलन छ । यस्तै भक्तपुर, बुङ्गमती, बज्रबाराही, बनेपा र कीर्तिपुरमा पनि यो बाजा बर्सेनि बजाइने परम्परा छ । यस्तै अन्य नेपालका विभिन्न जिल्ला डडेलधुरा, दैलेख जिल्लातिर बालिनाली रक्षाका लागि सिङ फुक्ने गरेको पाइन्छ । 

संसारको सबभन्दा पुरानो आदिकालको बाजाको रूपमा शृङ्गभेरी नेकु सिङ बाजालाई लिइएको छ । यसैको देखासिकीले नै अन्य नयाँ बाजा जस्तो कनाथ, काहा, पैँता, बाँसुरी, म्वाहाली आएको हुन सक्छ । बाजागाजामा राँगा र भैँसीको सिङलाई बाजाको रूपमा प्रयोग गरेको अनुसन्धानकर्ताको भनाइ छ । यो बाजा शृङ्गभेरीको नाउँमा प्रचलित हुन गयो । नेवारीमा यसलाई नेकुबाजा भनियो । नेपालमा मात्र होइन युरोपको अस्ट्रेलिया, अमेरिका, अफ्रिका, एसिया, स्विट्जरलान्ड, भारत र अन्य महादेशमा पनि गोरु, गाई, स्यालको सिङको बाजा बनाई फुक्ने चलन छ । नेपालमा त झन् सिङ बाजा प्राचीनकालमा नै प्रयोग गरिँदै आएको इतिहास छ । राँगाको सिङलाई चुचोमा प्वाल पारी फुक्ने बाजा बनाइएको हुन्छ । यस्तै ससानो सिङहरू भने चत्वाः र मात्वा भनी बाँसको टुक्रा जोडी त्यसबाट बजाउने गर्दै आइरहेको देखिन्छ ।

शृङ्गभेरी बाजाको उत्पत्ति 

नेवार जातिको आफ्नै आध्यामिक संस्कृतिको विशेषता छ । यसको प्रचलन आजसम्म कायम छ । यो निकै पुरानो ऐतिहासिक बाजा हो । यसै प्रसङ्गमा विचित्र द्वाविशतिकावदान अन्तर्गत सिंहकुल राजाका कथासँग जोडिएको छ । शृङ्गभेरी बाजाको उत्पत्ति सम्बन्धमा विभिन्न अवदान जस्तो चित्र विंशति अवदान, सर्वज्ञमित्रावदान, चैत्यपुगवावदान, शृङ्गभेरी कथावदान र ललितविस्तर आदिमा वर्णन गरिएको छ । भनिन्छ, बौद्धमार्गीको धारणा अनुसार सत्ययुगदेखि नै शृङ्गभेरी बाजाको उत्पत्ति भइसकेको अनुमान छ । रामशरण दर्नालको ‘नेपाली लोकबाजा’ लेखमा महाभारतकालीन समयमै शृङ्गभेरी बाजा बजाउने चलन रहेको छ । पौराणिक किंवदन्तीमा उल्लेख अनुसार शृङ्गभेरी बाजाको उत्पत्ति यसरी बयान गरेको पाइन्छ ।

यो शृङ्गभेरी (नेकु) बाजा बजाउने सम्बन्धमा कुनै समयमा शशीपटन भन्ने नगरमा सिंहकेतु नाम गरेको एउटा महाराजा थिए । उनले सधैँ जङ्गलमा गई सिकार खेली उक्त सिकारको मासु दैनिक रूपमा सेवन गर्ने गथ्र्याे । यसरी पशुहरूको हत्या गरी मांस भक्षण गरिरहेको देख्न नसकी महारानी सुरक्षणीले राजालाई पशुपन्छीको सिकार नगर्न बिन्ती गरिन् । यस जन्ममा गरेको हिंसाले अर्को जन्ममा दुःख भोग्नुपर्ने हुन्छ भनेर राजालाई सम्झाइन । बरु त्रिरत्नको शरण गई भक्तिभाव गरी चैत्य पूजा ब्राह्मण वा भिक्षुहरूलाई दान धर्म गर्न अनुरोध गरिन् तर राजाले आफ्नो राजकुलमा सिकार गर्ने नै धर्म हो यही नै सुख हो भने । एक दिन राजा सिंह केतुको मृत्यु हुन गयो रानी पनि राजासँगै सति गइन तर सिकार खेली प्राणीको हत्या गरेको कारणले राजा पुनर्जन्ममा राँगो भएर जन्म लिए । रानी सुरक्षणीले सत्य धर्म पालन गरेकाले शशीपटन सहरमा ब्राह्मण कुलमा ब्राह्मणी भएर जन्म भइन । उनको नाम रूपवती राखियो । रूपवतीले त्यस घरमा पालिएको एयटा राँगोलाई अति मायाले सधैँ रेखदेख गर्ने गर्थिन् । यो राँगो पहिलेको जन्मको पति थियो भन्ने बोधिसत्वको देववाणीले सम्झाइन् । अकस्मात् राँगाको मृत्यु भएपछि उक्त राँगाको हाड सबै सङ्कलन गरी चैत्यको गर्भमा गाडिदिइन । सिङको बाजा बनाइ चैत्यको प्रदक्षिणा गर्ने गरिन । यसै बेलादेखि शृङ्गभेरी भनि सिङको बाजा फुकाई चैत्य परिक्रमा गर्ने चलन आयो । 

स्वयम्भूमा शृङ्गभेरी बाजा 

गुँलापर्वको एक महिनाभरि स्वयम्भूमा मेला लागिरहन्छ । दिवङ्गतको सम्झनामा स्वयम्भूको पुजारीलाई निसलाः, किभु र केही दक्षिणा दिई हारतीमातालाई पूजा गरी नेकु श्रृङ्गभेरी बजाई घुमाउने चलन अद्यापि छ । सो अवसरमा स्वयम्भूका पुजारी बुद्धाचार्यहरू भुस्या, खिं बजाई साथसाथै नेकु शृङ्गभेरी बाजा फुकेर स्वयम्भू महाचैत्य परिक्रमा गरिरहेको हुन्छ । यस्तै स्वयभ्भूको तल परिक्रमा गर्ने ठाउँमा पनि नेकुबाजा बजाएर घुमेको हुन्छ । यसरी नेकुबाजा वर्षभरि परिवारमा कसैको मृत्यु भएमा उक्त परिवारको उद्धार होस् भनि प्रार्थना गर्दै अर्ना भैँसीको सिङ नेकुबाजा स्वयम्भू महाचैत्य परिव्रmमा गर्ने चलन छ । काठमाडौँमा बज्राचार्य, शाक्य, उदास (तुलाधर), ज्यापु र मानन्धरले नेकुबाजा बजाउन लगाउँछ ।

ललितपुरमा शृङ्गभेरी जात्रा 

ललितपुरको गुँला बाजा बौद्धजातमा आधारित शृङ्गभेरीवदान नेकु बाजा र तालबाजा दमखिं बजाउने चलन छ । यससँग केटाकेटी टिग्लिंचा भनी सानो सिङयुक्त बाँँसको ढुङ्ग्रो सँगै बजाउने गर्छन् । यसका लागि यहाँ मतयाः पर्व सञ्चालन गरी यसको संरक्षण गरिँदै आएको छ । मतयाःको पर्वमा बोगी भनी शृङ्गभेरी बाजा फुकेर बुद्धगीत गाइ विहार, मन्दिरमा परिक्रमा गरी मौलिक सांस्कृतिक परम्परालाई जोगाएर आएको छ । पण्डित हेमराज शाक्यको भनाइ अनुसार ललितपुरको बालार्चनदेव संस्कारित ज्येष्ठ वर्ण महाविहार प्रतिष्ठापन गरेको खुसियालीमा राज बालार्चनदेवले १६०० वर्षअघि मतयाः परम्पराको साथ साथ शृङ्गभेरी जात्रा स्थापना गरेको हो भन्ने गरिन्छ । पछि यो जात्रा बन्द हुन गएकाले वंशावली अनुसार राजा गुणकामदेवले पुनः चलाएको भनिन्छ । ने.सं ७५८ सालमा ललितपुर देशमा राजा सिद्धिनरसिंहको पालामा देशभर विभिन्न रोगले भयानक महामारी चलेकोले यसलाई शान्त गर्न १० वटा टोलका सर्वश्रेष्ठलाई बोलाई शृङ्गभेरि जात्रालाई राम्ररी सञ्चालन गर्न सरसल्लाह गरी निरन्तरता दिई सुचारु रूपले गरेको इतिहास छ ।