बाबुराम देवकोटा
सिन्धुलीमाढी, साउन ९ गते । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–६ सित्तलपाटीमा शुक्रबार बिहान सबारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
काठमाडौँबाट सिन्धुलीतर्फ आई रहेको बा.प्र.०१–०२४ च ९९१३ नम्बरको योद्धा पिकअप सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो । उक्त गाडीमा सवार दुई जनामध्ये मकवानपुर जिल्ला मनहरी गाँउपालिका–४ निवासी धर्मराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकका भाई गाडी चालक निरज रेग्मी गम्भीर घाइते भई थप उपचारका लागि धुलिखेल अस्पतालतर्फ पठाइको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका धर्मराजलाई उपचारका लागि सामुदायिक अस्पताल खुर्कोट ल्याउदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता तथा डिएसपी सूर्यप्रकास सुवेदीले जानकारी दिनुभयो ।