चितवन समाचारदाता
चितवन, साउन ९ गते । इन्स्योरेन्स कम्पनीले भुक्तानी दाबी गरेको रकम नदिएको भन्दै किसानले गुनासो गरेका छन् ।
रत्ननगरका पशुपालक किसान पदम गिरीले मरेका बङ्गुरको रकम इन्स्योरेन्स कम्पनीले नदिएको बताउनुभयो । पूर्वी चितवनको रत्ननगरमा पत्रकार सम्मेलनमा गिरीले इन्स्योरेन्स कम्पनीबाट आफू पीडित बनेको बताउनुभयो । खैरहनी–४, चैनपुरमा गौशाला एकीकृत कृषि तथा पशु फार्म सञ्चालन गरेका गिरीले युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा २० वटा बङ्गुरको बिमा गर्नुभएको थियो । बङ्गुर मरेको २४ घण्टाभित्र सबै प्रक्रिया पूरा गरी कागजात पेस गरेको भन्दै उहाले इन्स्योरेन्स कम्पनीले आफूलाई नियतवश भुक्तानी नदिएको आरोप लगाउनुभयो ।
बिमा ट्याग लगाएको मरेका बङ्गुरको फोटो, टोल विकास संस्था, इलाका प्रहरी कार्यालय खैरहनी, वडा कार्यालय, नगरपालिकाको पशुपन्छी शाखाबाट समेत बङ्गुर मरेको प्रमाणित कागजात पेस गर्दा पनि भिडियो पेस नगरेको बहाना बनाएर उक्त इन्स्योरेन्स कम्पनीले पैसा नदिएको गिरीले बताउनुभयो । उहाँले पैसा नदिए बकुलहरस्थित कम्पनीको शाखा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिनुभयो ।
२०७९ भदौ २४ देखि २८ को बिचमा गिरीको फार्ममा रहेका ८७ वटा बङ्गुर मरेका थिए । उहाँले २० वटाको मात्र बिमा गर्नुभएको थियो । किसान गिरीले मरेका २० वटा बङ्गुरको प्रतिगोटा १७ हजारका दरले तीन लाख ४० हजार रुपियाँ आफूले पाउनुपर्ने बताउनुभयो । पीडित किसान गिरीले इन्स्योरेन्स कम्पनी सञ्चालकले बिमा दाबी गरिएको रकम भुक्तानी दिन नसकिने भन्दै बिमा संस्थानमा जान भनेको बताउनुभयो । “मैले कम्पनीको टाँडी शाखामा बङ्गुरको इन्स्योरेन्स गरेको हुँ,” उहाँले भन्नुभयो, “मलाई यही कम्पनीले भुक्तानी दिनु पर्छ, अन्य निकायमा म किन जाऊँ ?”