• १० साउन २०८२, शनिबार

लमजुङका दुई सय ६० स्थान बाढीपहिरोको जोखिममा

blog

लमजुङको क्व्होलासोथार गाउँपालिका–३, बगुममा गतवर्ष गएको पहिरो । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, साउन ७ गते । लमजुङका २ सय ६० भन्दा बढी स्थान बाढी र पहिरोको जोखिममा रहेको पाइएको छ । पहिरोको जोखिममा सबैभन्दा बढी मानवीय बस्ती र सडक छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार लमजुङमा सरकारी कार्यालय, विद्यालय तथा धार्मिक संस्थासमेत जोखिममा छन् । विपद् व्यवस्थापन समितिले बनाएको मनसुन प्रतिकार्य तथा पूर्वतयारी योजना २०८२ मा सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिकासहित जिल्लाका दुई हजार ८ सय २५ घरधुरी पहिरोको जोखिममा छन् । 

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार बेँसीसहर नगरपालिकाको २० स्थान बढी र पहिरोको जोखिममा छ । वरपरको खोलानालाका कारण सदरमुकाम बेँसीसहरका केही भाग नै बाढी पहिरोको जोखिममा रहेको छ । मध्यनेपाल नगरपालिकाको ३९ स्थान बढी पहिरोको जोखिममा रहेको र यसले ८ सय १० घरधुरीका ३ सय २ सय ५० जनालाई प्रभावित पार्न सक्ने औंल्याइएको छ ।

सुन्दरबजार नगरपालिकामा १६ स्थान बढी बाढी र पहिरोको जोखिममा रहेका छन् । यसबाट १ सय ९१ घर प्रभावित हुन सक्ने औंल्याएको छ । राइनास नगरपालिकामा एक सय बढी ठाउँ बाढी पहिरोको जोखिममा छन् । यसबाट ४ सय ४७ घरका ३ हजार १ सय जना बढी प्रभावित हुन सक्ने योजनामा उल्लेख छ । राइनासमा सरकारी कार्यालय, विद्यालय, धार्मिक संस्था पनि बढी जोखिममा छन् ।

क्व्होलासोथार गाउँपालिकाका १६ स्थान जोखिममा छन् । यहाँका ६ सय ३४ घर बाढी पहिरोबाट प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ । दोर्दी गाउँपालिकाका ३५ स्थान बाढीपहिरोको जोखिममा छन् । यहाँ गाउँपालिका केन्द्र रहेको शेरा बजार वरपरका एक सय १४ घर पहिरोको जोखिममा छन् । यसमा हिले बजार, पुरानो दुवार, उपल्लो दैलुङलगायत गाउँ नै पहिरोको जोखिममा रहेको औंल्याइएको छ।

दुधपोखरी गाउँपालिकाका १४ स्थान पहिरोको जोखिममा छन् । यसमा बाढीपहिरोबाट ४ सय ७८ घर प्रभावित हुने सक्ने प्रक्षेपण गरिएको छ । यस्तै, ३ वटा विद्यालयका ४ सय ६५ जना विद्यार्थी बाढीपहिरोबाट जोखिममा रहेको मनसुन प्रतिकार्य तथा पूर्वयोजना तयारी योजनामा उल्लेख छ । मर्स्याङ्दी गाउँपालिकाका २२ स्थान र १ सय ५१ घरधुरी बाढी पहिरोले प्रभावित पार्न सक्ने औंल्याएको छ । मर्स्याङ्दीमा यसअघि पल्लोटारी, अर्खले तथा माथिल्लो चिप्लाका वासिन्दा विस्थापित भइसकेको अवस्थामा ती गाउँसमेत पहिरोको जोखिममा रहेका छन् ।

समय–समयमा हुने बाढी पहिरोका कारण मानवीयसँगै भौतिक क्षति बेहोर्नु परे पनि ठोस कार्ययोजना बनाउन नसकेको नागरिकहरूको गुनासो छ । जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङले विगतमा भएका विपद्का घटनामा समयमा उद्धार तथा राहतका कार्यक्रमहरू लागु हुन नसकेको नागरिकहरूको गुनासो आएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले बाढी र पहिरोको जोखिम स्थान पहिचान गरेर सुरक्षा टोलीलाई सतर्कतासहित तैनाथी अवस्थामा राखिएको बताउनुभएको छ । प्रशासन, प्रहरी, सेना, रेडक्रस, वन कार्यालय साथै स्थानीय तहसँग भएका विपद् प्रतिकार्यका सामग्रीको विवरण सङ्कलन गरी विपद् प्रतिकार्यमा तत्काल प्रयोगमा ल्याउन मिल्ने गरी सामग्रीहरूलाई चुस्त राखिएको उहाँले बताउनुभयो ।