• ७ साउन २०८२, बुधबार

आए आँप गए झटारो

blog

बढ्दो विश्व बजारीकरणका कारण बेमौसमी उत्पादन पनि बजारमा पाइने गरेको छ । एक प्रकारको हावापानीमा उत्पादन हुने फलफूल अर्को प्रकारको हावापानी भएको मुलुकमा पाइँदा केही समयअघिसम्म अचम्म मानिने गरिन्थ्यो । अचेल भने विस्तारै सामान्य जस्तै भइसकेको छ । 

शीत भण्डार (कोल्ड स्टोर) को विकास भएपछि फलफूल तथा तरकारीलाई स्टोर गरेर बेमौसममा पनि बजारमा ल्याउने गरिएको छ । यस्ता चिजवस्तु मानव स्वास्थ्यका लागि के कति फाइदाजनक छन् भन्ने विषय भने छुट्टै हो तर कतिपय अवस्थामा पाउनुलाई नै ठुलो कुरा मानिने गरिएको छ । 

स्वास्थ्यका दृष्टिकोणले भने जुन मौसममा उत्पादन हुने चिजवस्तु हो सोही मौसममा खाइयो भने त्यसले अवश्य पनि हाम्रो शरीरलाई फाइदा पुर्‍याउँछ । कुरा गर्न लागिएको यतिबेलाको मौसमी फल आँपको हो । फलफूलको राजा भनिने गरिएको आँपले बजार छपक्कै ढाकेको छ । यतिबेला आँपबाहेकका अन्य फलफूल जोकोहीलाई पनि खानै मन लाग्दैन । 

‘आए आँप, गए झटारो’ हाम्रो लोकव्यवहारमा चलिआएको यो उखान तपाईंले पनि सुन्नु भएकै होला । आँपका रुख ठूला हुने भएकाले फेदबाट दाउराको झटारो हान्दा आँपको दानामा लाग्यो भने त झरिहाल्छ । नलागेर झटारो मात्रै झर्‍यो भने पनि झटारो हान्नेको केही नोक्सानी भएन । त्यही झटारो न हो, जुन भुइँमा झरिहाल्छ । कुनै कुरा प्राप्त गर्न प्रयास गर्नुसँग यो उखानलाई जोड्ने गरिएको छ ।

खासगरी पहाड तथा तराई/मधेशका मानिसले विद्यार्थी जीवनमा आँपको बोटमा झटारो नहानेको व्यक्ति पाउन मुस्किल नै हुन्छ । आँपधनीले नदेख्ने गरी झटारो हानेर आँप झार्नुको मज्जा नै त्यो बेलाको सबैभन्दा ठुलो बहादुरी ठहरिन्थ्यो र जसले झार्छ ऊ समूहमा नाइके नै ठहरिन्थ्यो ।

बहुगुणी फल आँप

आँप वनस्पति वर्गको म्याङ्गिफेरा वर्गमा पर्ने फल हो । यो उष्ण हावापानीमा हुने उपयोगी र दीर्घजीवी रुख फलमा पर्छ । आँपलाई हिन्दु ग्रन्थमा ‘अमृत फल’ भनिएको छ । यसै भएर नै राष्ट्रिय फलफूल विकास केन्द्रले आँपलाई ‘फलफूलको राजा’ पनि भनेको छ । 

पाकेको आँप पौष्टिक हुनुका साथै वायु–पित्त नाशक, कान्तिदायक, वीर्यवर्धक र शीतलता प्रदान गर्ने गुणयुक्त फल हो । यसको कोयालाई पोलेर हिङ र वीरेनुन मिसाएर मनतातो पानीसँग खाने हो भने कब्जियत तथा वायुगोला निको हुने आयुर्वेद ग्रन्थहरूमा उल्लेख छ । 

आँपको बोक्रा र पातको पनि आयुर्वेदिक महत्त्व रहेको छ । आँपले हाम्रो मुटुलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ । आँप एउटै मात्र त्यस्तो फल हो जसमा प्रोटिन, खनिज, कार्बोहाइड्रेड, क्याल्सियम, फस्फोरस, फलाम र भिटामिन ‘ए–बी–सी’ समेत पाइन्छ । यति धेरै तत्व पाइने भएपछि यसलाई फलफूलको राजा नभनेर कुन फललाई भन्नु त ! तपाईं पनि पक्कै सहमत हुनुहुन्छ ।

आँप खेती

आँप नेपालका केही हिमाली जिल्लाबाहेक प्रायः सबै ठाउँमा पाइन्छ । तराई/मधेशमा मात्रै नेपालमा उत्पादन हुने आँपको ७० प्रतिशत हिस्सा ओगटेको छ । वनस्पति विज्ञानको वर्गीकरणमा ‘ऐनाकार्डियसी’ वर्गमा पर्ने आँपका केही रुख असाध्य अग्ला हुन्छन् भने अन्य रुख सरदरका नै हुन्छन् । राष्ट्रिय फलफूल विकास केन्द्रको वार्षिक तथ्याङ्क अनुसार नेपालमा चार लाख ६० हजार मेट्रिक टनसम्म आँप फल्ने गरेको छ ।

व्यापारीले आँपमा मुजुरा (फूल) लाग्दालाग्दै नै बगैँचा ठेग्ने गरेका छन् । सम्भवतः अन्य फलफूलमा यस्तो गरिएको छैन । यद्यपि रुद्राक्ष र बोधिचित्तमा भने दाना लागिसकेपछि व्यापारीले रुखै ठेग्ने गरिआएका छन् । यसमा चाहिँ व्यापारीले ठुलै जोखिम मोलेका हुन्छन् । ठुलो आँधीहुरी आएर, असिनापानी परेर चिचिलामै नोक्सान बनाइदिन पनि सक्छ । यस्तो सम्भावना धेरै रहन्छ । यतिबेला भने ‘आए आँप, गए झटारो’ भनेर चित्त बुझाउने अवस्था रहँदैन ।


आँपका जात

आँपका अनेक जात छन् । यीमध्ये कुनै छिटो पाक्छन् भने कुनै ढिलो पाक्छन् । जेठ महिनामा पाक्ने आँपमा जर्दालु, बम्बै, कृष्णभोग, अल्फान्सो, मालदह, दशहरी, सुकुल, आम्रपाली, गुलाबखास, सुखतारा, तोतापरी, मल्लिकालगायतका हुन् । यसै गरी ढिलो गरी पाक्नेमा चौसा, फजली, कलकत्तिया, नीलम, अब्बेहयातलगायतका छन् । 

यीमध्ये तपाईंले कुन कुन आँप खानु भएको छ ? मैले त पाँच/सात जातका भन्दा ज्यादा खाएको छैन । यी आँपमा स्वाद र मिठासको दृष्टिले मालदह नै सबैभन्दा उत्तम मानिएको छ ।  

अँ विश्वमा दुर्लभ र महँगो आँप पनि छ है । बोलकबोलमा बिक्री हुने यो आँपको विश्वबजारमा एक किलोग्रामकै चार लाख रुपियाँसम्म पर्दछ । विशेष गरी जापानको मियाजाकी प्रान्तमा फल्ने ‘तइयो नो तमाङ्गो’ जातको आँप विश्वमै महँगो मानिएको छ ।बैजनी रङको यो आँपमा नरिवल र भुइँकटहरको स्वादसमेत मिसिएको हुने चाख्नेले बताएका छन् । भारतमा पनि यो आँपको विकास गरिएको छ । खासगरी आफैँ यति मिठो आँप फल्ने नभई दाना लागेपछि रुखमा अनेक प्रविधि अपनाएर ज्यादा मिठासयुक्त बनाइने गरिएको हो ।

नेपाली बगैँचामा फलेका आँप पाक्नुभन्दा अगाडि भारतीय आँप भित्रिन थालिसकेका हुन्छन् । आँपलाई बोटमै पाक्न दियो भने त्यसमा हुने प्राकृतिक मिठास बेग्लै हुन्छ तर नछिप्पिई नै टिपेर अनेक रसायनको प्रयोग गरी पकाइन्छ । यसरी पकाइएका आँप स्वास्थ्यका दृष्टिकोणले ‘हाइजेनिक’ मानिँदैन । दाना छिप्पिएपछि टिपेर राख्दा आफैँ पाक्ने गुणयुक्त फल हो आँप । जेठ, असार र साउन आँपयुक्त महिना हुन् ।

भारतीय र नेपाली उत्पादन सकिइसकेपछि पनि नेपाली बजारमा आँप आइरहेकै हुन्छन् । ती आँप चाहिँ चीनमा फलेका हुन् । बेसिजनका भएका कारण बजारमूल्य महँगो हुन्छ तर स्वादका दृष्टिले भने उत्तम हुँदैनन् । 

–युवामञ्च   

Author

दीक्षा कोइराला