सुजल श्रेष्ठ
प्यूठान, साउन ५ गते । लुम्बिनी प्रदेशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा दर्शन गर्न आउने तीर्थालुको सङ्ख्या बढेको छ । साउन महिना सुरु भएसँगै बोलबमका लागि तीर्थयात्री आउने क्रम बढेको आश्रमले जनाएको छ ।
भारतबाट तीर्थालुहरु बोलबमका लागि आउने गरेको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताउनुभयो । बोलबम शिवको उपासना भएकाले स्वर्गद्वारीलाई इष्टदेवता मान्ने तीर्थयात्री बोलबमका लागि आउने गरेको उहाँले बताउनुभयो । बोलबममा आउने तीर्थयात्रीले माण्डवी नदीबाट जल लगेर स्वर्गद्वारीमा चढाउने गर्दछन् ।
भारत तथा नेपालका विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर तीर्थयात्री आउने गरेको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिका भिंगृ काउन्टर इन्चार्ज सुरज शाहले बताउनुभयो । सोमबार मात्र नभएर अरु बेलामा पनि तीर्थयात्री आउने क्रम बढेको उहाँले जानकारी दिनुभयो । “अरु महिनाभन्दा साउनमा स्वर्गद्वारी आउने धेरै हुन्छन्,” उहाँले भन्नुभयो,“गाडीको चाप पनि यो महिनाभर बढी हुन्छ ।”
स्वर्गद्वारीमा वैशाख पूर्णिमा, तिहारको औंशी, दशैँको फूलपाती, माघे सङ्क्रान्तिमा विशेष पूजा तथा मेला लाग्ने गर्दछ । स्वर्गद्वारीमा नेपाललगायत भारतका विभिन्न ठाउँबाट पर्यटक आउने आश्रमको तथ्याङ्क छ । भारतबाट आउने तीर्थयात्री बढी रहेको आश्रमले जनाएको छ ।
वि.सं. १८९६ सालमा रोल्पाको सखी गाविसको रुम्टीे गाउँमा महाप्रभुको जन्म भएको थियो । १९५२ सालमा प्रभुले स्वर्गद्वारी आश्रममा वैदिक मन्त्रबाट दीप प्रज्वलन गरी स्थापना गर्नुभएका अखण्ड महायज्ञ अहिले पनि निरन्तर बलिरहेको छ । प्रभुको १९९७ मार्ग शुक्ल चौथीका दिन निधन भएको थियो ।