• ५ साउन २०८२, सोमबार

गोरखामा एकवर्षमा ७० किलोमिटर सडक कालोपत्र

blog

गोरखा, साउन  ५ गते ।  एकवर्षमा जिल्लाभित्रका करिब ७० किलोमिटर सडक कालोपत्र गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ६९.७ किलोमिटर कालोपत्र गरिएको हो । सबैभन्दा धेरै गोरखा सडक योजना कार्यालयले कालोपत्र गरेको छ ।

सो कार्यालयले जिल्लाका ३३.६ किलोमिटर सडक यसवर्ष कालोपत्र गरेको हो । सडक कालोपत्रसहित नाला निर्माण, ढलान, वाल निर्माण गरेको कार्यालयका सूचना अधिकारी आशिक रिजालले जानकारी दिनुभयो । “सडक ग्राभेल गर्ने, नाला बनाउने र कालोपत्र गर्ने क्रम अझै चलिरहेको छ । काम गर्दै जाँदा कुनै वर्ष कालोपत्र बढी हुन्छ, कुनै बेला कम । तर, काम भने भइरहेको छ”, उहाँले भन्नुभयो ।

जिल्लामा सडक योजना कार्यालयपछि सबैभन्दा धेरै किलोमिटर सडक पूर्वाधार विकास कार्यालय हो । सो कार्यालयले यसवर्ष जिल्लाभर २१.७ किलोमिटर सडक कालोपत्र गरेको सूचना अधिकारी शर्मिला थापाले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा यसवर्ष छ किलोमिटर सडक कालोपत्र भएको इञ्जिनियर गोविन्द श्रेष्ठले बताउनुभयो । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, पोखराले यहाँको पालुङ्टार नगरपालिकामा सडक कालोपत्र गरेको छ । सो कार्यालयका इञ्जिनियर सरोज आचार्यका अनुसार पालुङ्टारमा २।५ किलोमिटर सडक कालोपत्र गरेको हो ।

गत आर्थिक वर्ष २०८१/८२ मा सहिदलखन गाउँपालिकाले ३.५ किलोमिटर सडक कालोपत्र गरेको छ । पालिकाको रु १० करोड बजेटमा नामजुङ्ग घैरुङ सडक कालोपत्र गरेको गाउँपालिकाका इञ्जिनियर राजन रानाभाटले जानकारी दिनुभयो । रासस