गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ४ गते । लेखा व्यवसायीको नियामक संस्था नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान) ले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन तयार गर्ने विभिन्न क्षेत्रका कम्पनीलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड, २०२४ बाट सम्मानित गरेको छ । राजधानीमा शुक्रबार सम्पन्न कार्यक्रममा उत्कृष्ट कम्पनीहरूलाई सम्मानित गरिएको हो ।
सम्मानित हुनेमा राष्ट्रिय उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन (बिपिए) अवार्ड २०२४ तर्फ निजी क्षेत्रका बैङ्कमा नबिल बैङ्कले गोल्ड अवार्ड प्राप्त गरेको छ । सिद्धार्थ बैङ्कले सिल्भर र नेपाल एसबिआई बैङ्कले ब्रोन्ज अवार्ड प्राप्त गरे । एभरेस्ट बैङ्क लिमिटेड, माछापुच्छ«े बैङ्क लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेका छन् । सार्वजनिक क्षेत्रका बैङ्किङ संस्थामध्ये कृषि विकास बैङ्कले सिल्भर अवार्ड जितेको छ ।
वित्तीय सेवा क्षेत्रमा कामना सेवा विकास बैङ्कले गोल्ड, महालक्ष्मी विकास बैङ्कले सिल्भर र मुक्तिनाथ विकास बैङ्कले ब्रोन्ज अवार्ड प्राप्त गरे । प्रभु क्यापिटल लिमिटेड, लुम्बिनी विकास बैङ्क लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले सर्टिफिकेट अफ मेरिट पाए ।
गैरजीवन बिमातर्फ नेपाल इन्स्योरेन्स कम्पनीले गोल्ड, शिखर इन्स्योरेन्स कम्पनीले ब्रोन्ज र हिमालयन एभरेस्ट इन्स्योरेन्स तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सर्टिफिकेट अफ मेरिट हासिल गरे ।
जीवन बिमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सिल्भर र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्टिफिकेट अफ मेरिट प्राप्त गरे ।
उत्पादन क्षेत्रमा युनिलिभर नेपालले गोल्ड, बोटलर्स नेपाल (तराई) र हिमालयन डिस्टिलरीले जोइन्ट ब्रोन्ज तथा बोटलर्स नेपालले सर्टिफिकेट अफ मेरिट प्राप्त गरे । ऊर्जा क्षेत्रमा बुटवल पावरले सर्टिफिकेट अफ मेरिट पायो भने सेवा क्षेत्रमा ओरिएन्टल होटेलले ब्रोन्ज अवार्ड जित्यो ।
आइक्यानले प्रत्येक वर्ष राष्ट्रिय उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्डका लागि प्रतिस्पर्धा आयोजना गर्दै आएको छ । पुरस्कृत कम्पनीका प्रतिनिधिलाई प्रमुख अतिथि महालेखा परीक्षक तोयम रायाले अवार्ड प्रदान गर्नुभयो ।
आइक्यानले राम्रो वित्तीय प्रतिवेदन र सान्दर्भिक जानकारीको खुलासालाई प्रोत्साहन गर्ने तथा नेपालमा वित्तीय प्रतिवेदनको उच्च मापदण्ड कायम गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्दै आएको जनाएको छ ।
अवार्ड विजेता दक्षिण एसियाली लेखा व्यवसायी महासङ्घले आयोजना गर्ने साफास्तरीय उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्डमा भाग लिन सिफारिस हुने आइक्यानले जनाएको छ ।
अध्यक्षमा सारूमगर
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको १० औँ परिषद्को दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित सिए नीलबहादुर सारूमगर र उपाध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि महालेखा परीक्षक तोयम रायाले नेपालमा लेखा परीक्षण व्यवसायलाई अझै परिस्कृत बनाइँदै लगिने बताउनुभयो । उहाँले विश्वमा वित्तीय परिक्षणमा विभिन्न नयाँ आयाम आएको र त्यसलाई नेपालमा पनि अनुकरण गर्न गराउन अत्यावश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सिए प्रवीणकुमार झाले आफ्नो कार्यकालमा पञ्चवर्षीय चौथो रणनीतिक योजना बनाइएको जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष मगरले बजारमा मध्यमस्तरका लेखा परीक्षकको अभाव रहेको भन्दै यसको अभाव पूरा गर्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।