गोरखापत्र समाचारदाता
ललितपुर, साउन ३ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विविधतायुक्त समाज नै मौलिक पहिचानका रूपमा रहेको बताउनुभएको छ ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको २८ औँ स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदानलाई शुक्रबार सानेपामा सम्बोधन गर्दै उहाँले नेपालको मौलिक संस्कृति र सभ्यतालाई विश्वमाझ परिचित गराउनुपर्ने बताउनुभएको हो । उहाँले मौलिक पहिचानले नेपाल कति सुन्दर छ भन्ने पुष्टि गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल प्रकृतिकै गहनाबाट सुन्दर बनेको देश हो । प्रकृति र संस्कृतिले हाम्रो आफ्नो मौलिक पहिचान जोगाउन मद्दत गरेको छ ।” सभापति देउवाले संविधानले सबै आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको, नेपालका सबै क्षेत्र वर्ग समुदायलाई समेटेर संसद् र सबै तहमा प्रनितिधित्व सुनिश्चित गरेको प्रस्ट पार्नुभयो ।