• १ साउन २०८२, बिहिबार

झोलुङ्गे पुलले तुइन विस्थापित

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन १ गते । खार्पुनाथ गाउँपालिका–१ र २ लाई जोड्नका लागि लालीबगरको लिगेमा कर्णाली नदीमाथि नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसँगै सो स्थान रहेको तुइन विस्थापित भएको छ । आफ्नो ठुलो समस्या समाधान भएको खार्पुनाथ गाउँपालिका–२ का वडाध्यक्ष चन्द्र रावलले बताउनुभयो । गत असार २९ गते आफूले तुइनबाट कर्णाली नदी तरेको स्मरण गर्दै उहाँले झोलुङ्गे पुल तरेर नदी पार गरेको जनाउनुभयो । 

२०७८ सालमा दुल्लीकुना लालीबगरको सडक निर्माण गर्ने क्रममा लिगेमा यसअघिको पुरानो झोलुङ्गे पुल भत्किएपछि खार्पुनाथ गाउँपालिकाले उक्त स्थानमा तुइन निर्माण गरेर वडा नं. १ र २ का बासिन्दालाई आउजाउ गर्ने बाटो खोलेको थियो । त्यसपछि धेरै पटक उक्त तुइन तरेर नदी वारपार गरेको बताउँदै उहाँले निकै जोखिमपूर्ण यात्रा गर्नु परिरहेको अवस्थामा लालीको औल र थालीको जिउलाको लिगेमा नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएपछि तुइन मुक्त भएको बताउनुभयो । यसबाट दुई वटा वडाका सात सयभन्दा भढी स्थानीय र कर्मचारी लाभान्वित भएका छन् ।

खार्पुनाथ गाउँपालिका–१ र २ लाई जोड्ने लिगे झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर झुलबहादुर शाहीले बताउनुभयो ।यो झोलुङ्गे पुल निर्माणका लागि गत चैत २७ गते पूर्वाधार विकास कार्यालयले उपभोक्ता समितिसँग सम्झौता गरेको थियो । तीन महिनामा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा सो स्थानमा रहेको तुइन विस्थापित भएको उहाँले बताउनुभयो ।