सुर्खेत समाचारदाता
सुर्खेत, साउन १ गते । सुर्खेत प्रहरीले नक्कली नेपाली नोट बनाई बजारमा फैलाउने गिरोहलाई पक्राउ गर्न सफल भएको छ । नक्कली १३ लाख नेपाली रुपियाँ र ३० केजी अफिमसहित पाँच जनाको गिरोहलाई प्रहरीले गत सोमबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले वीरेन्द्रनगर नगरपालिका–१०, शान्ति टोलमा बस्ने जाजरकोट जिल्ला कुसे गाउँपालिका–५ की २२ वर्षीय दिलमाया सिंह ठकुरीले खोटा मुद्रा चलाउने गरेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले शाहीबाट एक हजार दरका छ थान छ हजार नक्कली नोट फेला पारी नियन्त्रणमा लिएको बताउनुभयो ।
थप अनुसन्धान गर्दै जाँदा जाजरकोट जिल्ला कुसे गाउँपालिका–५, खुर्पा बस्ने रामबहादुर सिंह र दिलमाया सिंह ठकुरी, जाजरकोट कुसे गाउँपालिका–७, समकोटका कृष्णबहादुर वली, प्रेमबहादुर विक, कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ का मनबहादुर सहकारी पक्राउ परेका छन् ।
वीरेन्द्रनगरमा एक महिलाले आफूसँग भएको हजारको नोट नक्कली भएको आशङ्कामा प्रहरीलाई खबर गरेपछि सुर्खेत प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धान थालेको चार दिनभित्र प्रहरीले पाँच जनाको गिरोहलाई पक्राउ गर्न सफल भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नक्कली नोट आफैँले बनाएको स्वीकार गरेको र लागुपदार्थ कारोबार गर्दा यी नक्कली नोट बजारमा फैलाउन सक्ने भएकाले बनाइएको बयान दिएका छन् ।
एसपी शाहीले १५ लाख नक्कली नोट बनाएको र १३ लाख बरामद गरिएकाले बाँकी दुई लाखको नक्कली नोट बजारमा फैलिएको हुन सक्ने देखिएको जनाउनुभयो । अभियुक्त पाँचै जनालाई लागुऔषध, खोटा मुद्रा र सङ्गठित अपराध कसुरमा हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजङ्ग बुढथापाले बताउनुभयो ।