• ३२ असार २०८२, बुधबार

मादी नदी पुलको काम अन्तिम चरणमा

blog

दमौली (तनहुँ), असार ३२ गते । मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादी नदीमाथिको पुल अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदी पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो । 

पुल निर्माण तीव्र गतिमा प्रभावकारी रूपमा भइरहेको मुग्लिन-पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । “उक्त पुलमा छ वटा स्पान हुने छ । तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो”, उहाँले भन्नुभयो । 

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुने छ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताउनुभयो ।

“मुग्लिन-पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । पूर्वी खण्डअन्तर्गत सडकको काम ८६ प्रतिशत सकिएको छ । आँबुखैरेनी-जामुनेसम्मको ४१ दशमलव ४५ किलोमिटर कालोपत्र सकिएको छ”, उहाँले भन्नुभयो ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैँक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

पूर्वी खण्डको ठेक्का म्याद असार २९ गते सकिएको छ । केही काम बाँकी रहेकाले म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको पाण्डेले बताउनुभयो । रासस