शशिधर पराजुली
विराटनगर, असार ३२ गते । मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले जापनिज पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय दिनेश मण्डल र हरिकुमार महतो रहेको प्रहरीले जानकारी दिएको छ ।
दिनेश मण्डलको गहुँको भुस भण्डार गर्ने सानो गोठमा लुकाएर राखेको पेस्तोल बरामद भएको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो । बरामद भएको पेस्तोलमा ‘मेड इन जापान’ लेखिएको छ ।
पेस्तोलसँगै प्रहरीले एउटा खुकुरी र मोबाइल पनि बरामद गरेको जनाएको छ । प्रहरीले हरिकुमारको साथबाट नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
प्रहरीले हतियार लुकाएर राखेको सूचनाका आधारमा खोजतलास गर्दा उनीहरू पक्राउ परेका हुन् । हतियार लुकाएर राखेको आरोप लागेका आशिष मण्डल र मुकेशकुमार महतो भने फरार भएकोले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका हरिकुमार महतो र फरार भएका आशिष चोरी गरेको अभियोगमा एक महिनाअघि मात्र कारागारमुक्त भएका थिए ।